सिरहा । सिरहाको मिर्चैयामा अवस्थित सगरमाथा उच्च माध्यमिक विद्यालय, जो अब शिक्षा क्षेत्रमा लगभग देशैभर परिचित नाम बनिसकेको छ । सगरमाथालाई देशैभर परिचित गराउनुको मुख्य कारण समयक्रमसँगै यसले आफ्नो भूमिका एकपछि अर्को गरी विस्तार गर्नु हो ।
२०४६ सालमा स्थापित सगरमाथा अहिले पीजीदेखि उच्च शिक्षा अर्थात् स्नातक तहसम्म कक्षा सञ्चालन गरिरहेको छ । प्लस टुमा विज्ञान र व्यवस्थापन संकाय तथा स्नातकमा बीबीएस सञ्चालन गर्दै आएको सगरमाथाले बिहीबारदेखि बीबीए पनि सञ्चालनमा ल्याएको छ ।
बीबीएसका लागि त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएको सगरमाथालाई सुदूरपश्चिम विश्वविद्यालयले बीबीएको सम्बन्धन दिएको छ । अब निकट भविष्यमै बीएस्सी एजी र बीसीए भित्र्याउन लागेको विद्यालय प्रशासनले जनाएको छ ।
यसरी तरह तरहका पढाइ सगरमाथाले स्थानीयस्तरमै ल्याउन थालेपछि पछिल्लो समय यस क्षेत्रमा उच्च शिक्षा हासिल गर्न अन्यत्र पलायन हुनेहरूको संख्यामा कमी आएको छ । अर्को कुरो के भने सगरमाथाले गुणस्तरीय शिक्षालाई आफ्नो बटमलाइन नै बनाउँदै आएको छ ।
गुणस्तरीय उच्च शिक्षा स्थानीयस्तरमै पाउने र यतै पढ्दा अनावश्यक खर्च पनि जोगिने भएपछि सगरमाथामा विद्यार्थीको आकर्षण बढेको विद्यालयका सञ्चालक प्रदीप तिवारी बताउँछन् । उनका अनुसार, अहिले विद्यालयमा जम्मा २५ सय विद्यार्थी अध्ययनरत छन् ।
जसमा ७ सय त कक्षा ११ र १२ कै विद्यार्थी रहेको तिवारीले जानकारी दिए । त्यसमा पनि कक्षा ११ मा यसपालि मात्रै ३ सयबढी विद्यार्थी भर्ना भएको सञ्चालक तिवारीले बताए । सगरमाथामा विद्यार्थी यसरी ओइरिन थालेपछि विद्यालयले पछिल्लो समय आफ्ना पूर्वाधारहरूको थप विस्तार गरिरहेको छ ।
सगरमाथाका सञ्चालक तिवारी काम र जिम्मेवारीबाट नथाक्ने स्वभावका व्यक्ति हुन् । शिक्षा क्षेत्रमै आफ्नो जीवन समर्पित गरेका उनी विद्यालयमा हुने सम्पूर्ण गतिविधिको आफै नेतृत्व गरिरहेका हुन्छन् । यद्यपि सगरमाथाको सफलतामा सम्पूर्ण टिमको उत्तिकै योगदान रहेको तिवारीको भनाइ छ ।
सगरमाथाको अर्को विशेषता र परोपकारी कार्य के हो भने यहाँ सबैले पैसा नै तिरेर होइन, थुप्रै जेहेन्दार र गरिब विद्यार्थी छुटमा र निशुल्क पनि पढ्छन् । उनको एउटै ध्येय छ – यो समाज शिक्षित होस्, सचेत बनोस्, समाज परिवर्तन होस्, यहाँका जनशक्ति विश्वमञ्चमा प्रतिस्पर्धा गर्न सकोस् ।















