क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। मैथिली एसोसिएशन नेपालको आयोजनामा विराटनगरमा मान इन्टरनेशनल अवार्ड कार्यक्रम भव्यतापूर्वक गरिने भएको छ । आगामी मंसीर १५ गते हुने कार्यक्रमको तयारी पुरा भएको आयोजक संस्थाका अध्यक्ष प्रवीण नारायण चौधरीले बताए । मान इन्टरनेशनल अवार्ड कार्यक्रम बारे जानकारी दिने उदेश्यले बुधवार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चौधरीले नेपाल र भारतका गरी ६० जना विशिष्ट व्यक्तित्वलाई मान इन्टरनेशनल अवार्ड प्रदान गर्न लागिएको जानकारी दिए ।
अवार्ड वितरण कार्यक्रममा ४५ जना सेलिब्रेटीलाई गेष्ट अफ अनरबाट सम्मानित गर्ने तयारी गरेको अध्यक्ष चौधरीले बताए । मैथिली एशोसिएशन नेपाल विराटनगर सहित नेपाल र भारतको मिथिलान्चल क्षेत्रमा मैथिली भाषा साहित्य कला र संस्कृति को क्षेत्रमा काम गर्दै मिथिलाको धरोहरको संरक्षण हुनुपर्ने आवाज उठाउँदै आएको छ ।















