क्रान्ति केन्द्र सम्वाददाता
राजविराज।सप्तरीको राजगढ गाउँपालिका-३स्थित नर्घो-फकिरा जोड्ने मुतनी नदीमा पुल निर्माण थालिएको साठे आठ बर्ष बितिसकेपनि पुरा हुनसकेको छैन्।उक्त पुल निर्माण काम कछुवा जस्तै चालमा भइरहेको छ।
नदीमा पुल नहुँदा फकिरा, कुपही, रम्पुरा, इनरूवा ,झुटकी लागयत आधा दर्जन बढी गाउँका बासिन्दाहरूलाई आवतजावतमा सास्ती खेप्नुपर्ने बाध्यता रहेको छ।
२०७३ साल जेठ २ गते ५ करोड ४० लाख ९३ हजार रूपैयाँमा सम्झौता गरि रोशन कन्सट्रक्सन जनकपुरले काम थालेको थियो।सडक डिभिजन लहान र निर्माण कम्पनीबिच सुरुमा २०७५ जेठ ०९ गतेसम्म काम समपन्न गर्ने सम्झौता भएको थियो।सडक डिभिजन लहानका अनुसार त्यसयता पाँच पटक म्याद थपिएको छ।अन्तिम पटक थप गरिएको म्याद पनि २०८१ साल कात्तिक ०९ गते सकिएको छ।
पुल नहुँदा गाउँसम्म एम्बुलेन्स पनि जानसक्ने अवस्था नरहेको फकिराका रघुविर खंग बताउँछन्।’कोही बिरामी पर्यो भने नहरकै बाटो हुँदै लानुपर्छ त्योपनि मोटरसाइल मात्र जान्छ, चारपाङग्रे गाडी जाने अवस्था छैन,’उनले भने।
खंगका अनुसार यहाँ नजिक नर्घोमा रहेको चिकित्सकका साना क्लिनिकमा जाने बाटो पनि यही हो।सुखायाममा जसोतसो गएपनि नदीमा पानी हुँदा दोब्बर दुरीको अर्को बाटोबाट यात्रा गर्नुपर्ने बाध्यता हुने गरेको उनले बताए।
फकिरा, कुपही, रम्पुरा, इनरूवा लागायतका नजिकका गाउँका बासिन्दाहरू नर्घो हाटबजार गर्न दैनिकी यो बाटो प्रयोग गर्ने गरेको स्थानीय मो.बसिरले बताए। उनले पुल नहुँदा दैनिकी गाडी आवतजावतमा धेरै समस्या हुने गरेको बताउँछन्।जिल्लाको सदरमुकाम राजविराज पुग्ने नजिकको बाटो यही भएको हुनाले पनि उनीहरूलाई थप समस्या भएको छ।
आशाको किरण पुल सुस्त गतिमा निर्माण भइरहँदा स्थानीयबासी निराश भइरहेका छन्।’ठेकेदार कहिले आउँछ थोरै काम गर्छन् फेरि महिनो महिना हराएकै हुन्छ,आज बन्छ भोलि बन्छ भन्दै सात साल भइसकेको छ तर बन्न सकेको छैन्,खै बन्छ कि बन्दैन पनि’ मो बसिरले भने।
कार्यालय प्रमुख आशुतोष कर्णले काम छिटो समपन्न गर्न निर्माण कम्पनीलाई पटकपटक ताकेदा गरिरहेको बताए।सडक डिभिजन,लहानका सुचना अधिकारी अश्विनी कुमार यादवले हालसम्म कामको ८५ प्रतिशत भौतिक प्रगति भएको बताए। उनले निर्माण कम्पनीलाई हालसम्म ४ करोड ५२ लाख रुपैयाँ भुक्तानी दिइसकेको जानकरी दिए। उनले भने,’ठेकेदारले एक ढेड महिनामै काम सम्पन्न गर्ने भनेको छ, ढिलोमा चालु आवको असार मसान्तसम्म काम पुरा हुने कार्यालयले लक्ष्य लिएको छ।’















