क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। मंसिर १६ गते हुने वडाध्यक्ष पदको उपनिर्वाचनको लागि सप्तरीको डाक्नेश्वरी नगरपालिकाको दुई वटा वडामा १७ जनाको उम्मेदवारी परेको छ।
आइतबार भएको मनोनयन दर्तामा वडा नं १ र ४मा गरि १७ जनाले मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत गंगा कुमार मिश्रले जानकारी दिए। वडा नं १बाट ९ जना र वडा नं ४बाट ८ जनाले मनोनयन दर्ता गराएको उनले बताए ।
१७ जना मध्ये एक जना महिला र १६ जना पुरूष उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
वडा नं १मा नेकपा एमालेबाट भगबानी साह, नेपाली कांग्रेसका भुलिया देवी थरूनी , नेकपा माओवादी केन्द्रबाट प्रमोद कुमार संत, जनता समाजवादी पार्टी, नेपालका धिरेन्द्र कुमार साह, जनमत पार्टीका शैलेन्द्र कुमार साह(तेली), राष्ट्रिय प्रजातन्त्र पार्टीका सतिश कुमार चौधरी थारू, नागरिक उन्मुक्ती पार्टीका अनरुद प्रसाद चौधरी र स्वतन्त्र रूपमा सुशिल साह र सियाकान्त चौधरीले मनोनयन दर्ता गराएका छन्।
त्यस्तै वडा नं ४मा नेपाली कांग्रेसका जोगिनद्र राय अमात, नेकपा एमालेका संजय कुमार यादव, नेकपा(माओवादी केन्द्र)का भागवत राम, जसपा नेपालका देवेन्द्र प्रसाद यादव, नागरिक उन्मुक्ती पार्टीका शिवकुमार राम, जनमत पार्टीका उदित नारायण पंडित, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामकुमार यादव र जनता समाजवादी पार्टीका रविन्द्र रायले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ।















