क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा आन्दोलनरत शिक्षकहरुले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।
चार महिनादेखि तलब नपाएको भन्दै आन्दोलित उनीहरूले आइतबार कार्यालयमा तालाबन्दी गरेका हुन् ।
कात्तिक ६ गतेदेखि कार्यालयको मुल गेटमा धर्नामा रहेको उनीहरूलाई नगरप्रमुख विरेन्द्र माझीले आइतबार सम्बोधन गर्ने आश्वासन दिएको आन्दोलनका संयोजक अशोक कुमार यादवले जानकारी दिए ।
तर नगरप्रमुख नआएपछि उनीहरूले तालाबन्दी गरेको उनले बताए।
हनुमाननगरमा नगरसभा नहुँदा त्यहाँका शिक्षक तथा कर्मचारीहरुले तलब समेत पाउन सकेका छैनन् ।
शिक्षकहरू आन्दोलित भएपछि हनुमाननगरका ३० विद्यालयका ७ हजार बालबालिका शिक्षाबाट वञ्चित छन् ।