क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । पछिल्लो एक महिनामा सप्तरी प्रहरीले ६६ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयमा शनिबार पत्रकार सम्मेलन गर्दै सप्तरी प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले एक महिने प्रगति विवरण सार्वजनिक गरेको तथ्याङंकमा यो जानकारी छ।
उनी सप्तरी आएपछि चालु आर्थिक बर्षको असोज १७ गतेदेखि हालसम्ममा ६६ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको उनले जानकारी दिए । पक्राउ गरिएका प्रतिवादीहरूबाट चार बर्ष २ महिना ११ दिन कैद भुक्तान तथा तीन लाख ३१ हजार हजार ८ सय ६१ रूपैयाँ जरिवाना भुक्तान गर्नुपर्ने रहेको छ ।
चालु आर्थिक बर्ष २०८१/०८२को साउनदेखि असोज १६ गते सम्ममा मात्र सात जना प्रतिवादी पक्राउ गरिएको तथ्याङक सप्तरी प्रहरीको रहेको छ।उनीहरूबाट २३ महिना ८ दिन कैद भुक्तान र उन्नसाठी हजार जरिवाना असुल गर्नुपर्ने रहेको छ।त्यतिबेला सप्तरीमा गजुसिद्धि बज्राचार्य सप्तरी प्रहरी प्रमुख थिए।
सप्तरीमा फरार प्रतिवादी ४ हजार रहेको प्रहरी उपरीक्षक खतिवडाले जानकारी दिएका छन्।उहाँले त्यसमध्ये केहीको मृत्यु समेत भइसकेको बताए।उनले भने,’मृत्यु भइसकेकाको मृत्यु दर्ता प्रमाण पत्र लिएर अदालतबाट लगत कट्टा गराउने काम पनि गर्ने गरेका छौँ ।’