क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरी प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ। तिलाठी कोइलाडी गाउँपालिका– ६ बस्ने चन्दन कुमार सिंहलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए।
सिंहलाई बुधबार बिहान घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ। सिंहले तिलाठी कोइलाडी गाउँपालिका-८का भगवानलाल यादवसँग घरजग्गा किन्न भन्दै रु ४८ लाख ७५ हजार ऋण लिएका थिए।
यादवले रकम माग्दा सिंहले आफ्नो नाममा संचालनमा रहेको सिद्धार्थ बैंक राजविराज शाखाको चेक दिएका थिए। चेक साट्न जाँदा खातामा रकम नभएपछि बैंकले बाउन्स गरेपछि यादवले बैकिङ कसुरको मुद्दामा जाहेरी दिएका थिए।
सोही जाहेरीको आधारमा उनलाई पक्राउ गरी सप्तरी जिल्ला अदालत बाट ५ दिन म्याद थप गराएर अनुसन्धान कार्य गरिरहेको खतिवडाले बताए ।