क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । हालै आएको बाढीले क्षति पुर्याएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका स्थानीय बासिन्दाहरूसँग राहत वितरणमा भेदभाव भएको आरोप लागेको छ ।
शुक्रबार हनुमाननगर कंकालिनीका बिभिन्न वडाबाट आएको एक टोलीले सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै पीडितलाई राहत नदिए वडाध्यक्षहरूले आफ्नो आसेपासेलाई राहत दिएको गुनासो गरेका छन् ।
स्थानीय अशोक यादवले वास्तविक पीडितलाई राहत नदिए वडाध्यक्षहरूले आफ्नो नातागोताको नाम सिफारिस गरेको आरोप लगाए ।
विश्व खाद्य कार्यक्रम अन्तर्गत १५ हजारको दरले वितरण गरिएको राहत एकै घरका चार जनालाई दिएपनि वास्तविक पीडित भने वञ्चित रहेको उनले बताए ।
पालिका प्रमुख विरेन्द्र माझीले राहत वितरणमा आफूसँग कुनै समन्वय नगरि राहत वितरण गरिएको बताए ।
उनले आफु समक्ष राहत वितरणमा विवाद भएको सुचना आएपछि रोक लगाउन जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको जानकारी दिए । त्यसपछि पनि आफुलाई जानकारी बिनै राहत वितरण गरिएको बताए ।
कार्यक्रम संचालन गरेका सेवक नेपाल संस्थाका प्रतिनिधि मुरारी शुक्लाले भने पालिकाका गठन गरेको समितिले दिएको नामकै आधारमा राहत वितरण गरेको बताए ।
बुधवार स्थानीयहरुले दिनभर हनुमाननगरमा प्रर्दशन गरेसँगै ४वटा वडा कार्यालयमा तालाबन्दी गरेका थिए।















