क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । छिन्नमस्ता गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२को प्रथम चेक प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवतीको नाममा काटेको छ। पालिकाले छिन्नमस्ता भगवती संरक्षण सम्वर्द्धन कमिटीको नाममा काटेको एक लाख ५१ हजारको चेक बडा दशैंको अवसरमा मुल पुजारी भुवन ठाकुरलाई हस्तान्तरण गरिएको छ।
पालिकाका अध्यक्ष विद्यानन्द चौधरी र प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल आनन्दले संयुक्त रुपमा चेक पुजारीलाई हस्तान्तरण गरेका छन्।
‘माताको नामवाट नामाकरण भएकोले छिन्नमस्ता गाउँपालिकामा म निर्बाचित भएयता गाउँपालिकाको हरेक आर्थिक बर्षको पहिलो चेक माताको पुजापाठको लागी काटी मात्र अरु चेक काट्ने परम्परा बसालेका छुँ,’ पालिका अध्यक्ष चौधरीले भने, ‘त्यसै अनुसार दशैंको अवसर पारेर चेक ठाकुरलाई हस्तान्तरण गरिएको छ ।’
उनले भने छिन्नमस्ताको नामबाट यस पालिकाको नामाकरण हुनु हामी सबैका लागि गौरव र सौभाग्यको विषय हो।
‘उहाँको शक्तिशाली आशीर्वादले हामीलाई हरेक पाइलामा हौसला प्रदान गर्दै, हाम्रो जीवनलाई उज्यालो र समृद्धितर्फ डोर्याइरहेको छ। माताको ममतामयी संरक्षणले हामीलाई हरेक चुनौती पार गर्न, सामर्थ्य र साहसको स्रोत बनेर हामीलाई सदैव अभिभावकीय आश्रयमा राखिरहेकी छिन्। यस्तो देवीको कृपाले हामी धन्य छौं, र उहाँप्रति समर्पित यो श्रद्धा हाम्रो जीवनभरको आस्था हो,’ अध्यक्ष विद्यानन्द चौधरीले भने ।















