क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाले वडा नं. ४ कोईलाडीका बाढी प्रभावितहरुलाई बुधबार नगद राहत वितरण गरेको छ ।
युनिसेफको सहयोगमा गाउँपालिकाले केन्द्रीय विपद् प्रतिकार्य कोष कार्यक्रम अन्तर्गत कोशी नदीमा पूर्वानुमानमा आधारित पूर्व कार्यमार्फत सबल नेपालको प्राविधिक सहयोगमा २५२ परिवारलाई १५ हजार रुपैयाँका दरले राहत रकम वितरण गरेको हो ।
लाभग्राहीमध्ये १ सय २४ जनालाई बैंक खातामार्फत रकम पठाइएको छ भने १ सय २८ जनालाई पालिकाको कार्यालयमा नगद वितरण गरिएको विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए।
बाढी प्रभावित परिवारलाई नगद राहत वितरण गर्दा परिवारले आवश्यकता अनुसार खर्च गर्न पाउने भन्दै गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले दशैं जस्ता महान पर्वको समयमा नगद राहत पाउँदा लाभग्राहीले खुशी ब्यक्त गरेको बताए ।
सो कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, वडा नं. ४ का वडा अध्यक्ष मुनिलाल मुखिया, युनिसेफका सामाजिक नीति अधिकृतद्वय विष्णुमाया भट्टराई र प्रकाश आचार्य, गाउँपालिकाका किशोर कुमार झा, रतन मिश्र, सबल नेपालका नवनीत जयसवाल, दिलीप यादव, महेश दास लगायतको सहभागिता रहेको थियो ।
















