क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको राजविराजको एक पसलमा चुरोटको बट्टामा आन्तरिक राजश्व कार्यालयको नक्कली स्टिकर टाँसेको भेटिएको छ ।
बुधबार दिउँसो कर कार्यालय, स्थानीय प्रशासन र उद्योग वाणिज्य संघका प्रतिनिधिहरुको टोलीले राजविराजस्थित गोपाल एण्ड वजरंग ट्रेर्डसमा खुकुरी चुरोटको बट्टामा आन्तरिक राजस्व कार्यालयको नक्कली स्टिकर टाँसिएको भेटिएको हो ।
सुचनाको आधारमा पसलमा अनुगमन गर्दा चुरोटको तीन वटा बट्टामा नक्कली स्टिकर भेटिएको कर कार्यालय राजविराजका निमित्त प्रमुख डिल्ली रमण भण्डारीले जानकारी दिए ।
उनले भने, ‘हामीलाई नक्कली स्टिकर टाँसेर चुरोट बेचिने गरेको सुचना आएको थियो, अनुगमन गर्दा प्रारम्भिक चरणमा तीन वटा बट्टामा नक्कली स्टिकर भेटिएको हो ।’
प्रमुख भण्डारीले थप अनुसन्धानको लागि ती डब्बाहरू आन्तरिक राजश्व कार्यालय लहान पठाइएको बताए ।
त्यसपछि बजार बन्द गर्दै राजविराका व्यापारीहरू आन्दोलित भएका छन् । व्यापारीहरुले राजविराजको मिनी मार्केट अगाडि सडकमा टायर बाल्दै प्रदर्शन गरिरहेका छन् ।
प्रदर्शनकारी व्यापारीहरुले प्रहरीकै मिलेमतोमा तस्करी हुने र ती सामान व्यापारीले किन्दा अनुगमन समितिले पक्राउ गरी दुःख दिने गरेको आरोप लगाउँदै प्रदर्शन गरिरहेका छन् ।















