क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । यातायात सेवा कार्यालय राजविराजका कर्मचारीहरुसँग कार्यालयमै दुर्व्यवहार भएको घटना बाहिरिएको छ ।
कार्यालय बाहिर परामर्श सेवा चलाइरहेको धिरेन्द्र बर्मा र मनोज यादवले बुधबार कार्यलयका कर्मचारीहरूसँग दुर्व्यवहार गरेको कर्मचारी स्रोतले जनाएको छ।
कार्यालय सहयोगी अर्जुन यादवलाई धक्का दिँदै कार्यालयको गेटमा खुट्टाले हान्दै उपद्रव गरेको जनाइएको छ ।
कार्यालयमा रहेको सिसिटिभी फुटेजमा पनि उनीहरुले गेटमा एकजनालाई धक्का दिइरहेको देखिन्छ ।
कार्यालय प्रमुख कामेश्वर रोहिताले दुर्व्यवहार भएको घटना सहि रहेको बताए । उनीहरूले उपद्रव गर्दै परिस्थिति असमान्य बनाएको र प्रहरी आएपछि मात्र स्थित सहज बनेको रोहिताले बताए ।
‘कासलाई धक्का दिँदै भित्र छिर्दै कार्यालयमा आएर तथानाम भन्दै गेटमा लातले हानिरहेको थियो,’ उनले भने, ‘स्थिति तनावपूर्ण भयो काम गर्ने अवस्था थिएन त्यसपछि प्रहरीलाई जानकारी गराउँदा उनीहरू आएर समान्य पार्नुभयो ।’
पछिल्लो समय कानुनी मापदण्ड बमोजिम ट्राइल परिक्षा संचालन गरिएको र कार्यालयमा सेवाग्राहीको अन्य काम बिचौलिया मार्फत बन्द गरिएपछि उनीहरू आँतिएर यस्तो क्रियाकलाप गर्न थालेको बताए ।