क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मक्रान्तिले राजविराजका पेट्रोल पम्पहरुको अनुगमन गरेका छन् ।
पेट्रोलको भाउ घटेर आएपछि पेट्रोल पम्पहरुले मनपरि गरि इन्धन स्टोक गरि वितरण नगरिरहेको गुनासो आएपछि उनले मंगलबार साँझ अनुगमन गरेका हुन् ।
सिडिओ मक्रान्तिले अनुगमन गरि पेट्रोल पम्पहरूमा स्टोक गरि वितरण बन्द नगर्न निर्देशन दिएका छन । संचालकहरुले अहिले स्टोक नरहेको र पेट्रोल आइरहेको बताइएको बताए ।
सिडिओ मक्रान्तिले कालोबजारी गरेको पाएको जानकारी सम्बन्धित निकायमा गराउन आमजनलाई आग्रह समेत गरे
राजविराजका विभिन्न पेट्रोल पम्पमा राति ८ बजेसम्म सबै पम्पमा इन्धन सहज उपलब्ध हुने व्यवस्था गरिएको जनाइएको छ ।
अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र यादव, राष्ट्रिय अनुसन्धान प्रमुख सुरेन्द्र कोइराला, प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपाने समेत सहभागी थिए।
सोमबार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलको मुल्यमा कमी आएपछि मंगलबार राजविराजका सबै पेट्रोल पम्पहरु बन्द थियो ।
पछिल्लो समय मुल्यमा गिरावट आएपछि पेट्रोल पम्पहरु बन्द हुने र किराना पसलहरुमा छ्यापछ्याप्ती महंगोमा पेट्रोल भेट्ने स्थानीय सवारी चालकहरुको गुनासो रहेको छ ।
पेट्रोल पम्प संचालकहरुले मनपरि ढंगले खुद्रा व्यापारीहरूलाई पुरानै महंगो मुल्यमा पेट्रोल दिने गरेको आरोप लागिरहेको छ ।