क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । जनता समाजवादी पार्टी नेपालको विभाजन मधेशी शक्तिलाई कमजोर गर्ने संघीय शासक वर्गको षडयन्त्रको शिकार भएको मधेश प्रदेशका पुर्व मन्त्री शैलन्द्र प्रसाद साहले बताएका छन् ।
सोमबार भएको पार्टीको तिलाठी कोइलाडी गाउँपालिका स्तरिय विस्तारित बैठकमा विशिष्ट अतिथी रहेका केन्द्रीय सचिव साहले उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग्गिएर अशोक राई नेतृत्वको जसपा बन्नु शासक वर्गको षडयन्त्रको शिकार भएको बताएका हुन् ।
संघीय सरकारको नेतृत्वले प्रदेशलाई कमजोर गर्ने षडयन्त्र गरेको उनले आरोप समेत लगाएका छन् ।
‘नेपाल भन्दा सानो देशहरूमा जहाँ संघीयता छ त्यहाँ स्थानी सरकार प्रदेश सरकारको मातहतमा छ, तर नेपाल मात्र हो जहाँ स्थानीय सरकार संघ सरकारको मातहत छ,’ उनले भने, ‘प्रदेशलाई कमजोर बनाउने षड्यन्त्र हो, उनीहरूले संविधानमा उल्लेख भएको अधिकारहरू अहिलेसम्म प्रदेशलाई दिएको छैन् ।’
उनले मधेश प्रदेश सरकारले प्रहरी ऐन बनाए पनि संघ सरकारको कारण आफ्नो प्रहरी भर्ना गर्न नसकेको बताए ।
‘प्रदेशले ऐन बनाएर पनि संघले संविधान बमोजिम व्यवस्था नगरेकोले प्रहरी भर्ना गर्न सकेको छैन्, स्थानीय सरकारले आफ्नो पुलिस राखेको छ तर प्रदेशलाई छैन्, जसलाई आफ्नो पुलिस हुँदैन यस्तो सरकार हुन्छ कतै ?,’ पुर्वमन्त्री साहले भने ।
उनले यी कुराहरू जनतालाई बुझाउनुपर्छ आफ्ना नेता-कार्यकर्ताहरुालई आग्रह गरे ।
उनले संविधानमा मधेशी जनताको सबै हकअधिकार सुनिश्चित नभएकोले संविधा संसोधन हुनुपर्ने बताएका छन् ।
उनले भने, ‘पुर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्छ, यस्तो भए कम खर्च हुन्छ, यसको लागि संविधान संसोधन, संविधान पुर्नलेखन गर्नैपर्छ, हाम्रो चाहाना जनतालाई बुझाउनुपर्छ।’