क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । गत स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी नेपालबाट तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष पदका प्रत्यासी निरज मुक्तिसहितको टोलीले पालिकामा डुवान परेको क्षेत्रको अनुगमन गरेका छन् ।
तीन दिनदेखि भइरहेको अविरल वर्षाले डुवान परेको वडा नं ५को बनरझुला, टिकुली र कुसहा टोलको अनुगमन गरेका छन् ।
वर्षाले क्षति पुर्याएका खबरपछि तुरून्तै त्यहाँ पुगेर उनीहरूले पीडितहरुसँग भेटघाट गरेको स्थानीय नेता निशान्त सिंहले बताए ।
अनुगमन पश्चात वर्षाले प्रभावितहरुलाई उनीहरूले आवश्यक राहत सामग्री उपलब्ध गराउने समेत जानकारी गराएका छन् ।
नेता मुक्तिले भने, ‘वर्षाले निकै पीडा दिएको छ, स्थानीय सरकार उनीहरूको समस्यामा गम्भीर देखिएनन्, हामीले चाँडै उनीहरूलाई राहत सामग्री उपलब्ध गराउने छौँ।’
नेता मुक्तिले पीडितलाई सहयोगको लागि सम्बद्ध निकायहरुलाई आग्रह समेत गरेका छन् ।
स्थानीय युवा नेता शिवनाथ यादवले राहतको लागि पहल गर्न सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।
‘हामी पनि सक्दो सहयोग गर्छौँ र सम्बन्धित निकायहरूलाई पनि उनिहरुलाई सहयोग गर्न आग्रह गर्दछौ,’ नेता यादवले भने ।
टोलीमा स्थानीय नेता तथा वडा नं ५को वडाध्यक्ष प्रत्यासी माधव राय, प्राधानाध्यापक दुर्गानन्द राय, सचिव राय लगायत स्थानीयहरु रहेका थिए ।















