क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंह बुधबार एक्कासी गृह मन्त्रालयको अनुुगमन तथा निरीक्षण गर्न पुगे ।
गृह मन्त्रालयका कर्मचारीहरुमा लापरबाही बढेको तथा सेवा प्रवाहमा दुःख दिने गरेको जन गुनासो बढेपछि मुख्यमन्त्री सिंहले कार्यालयले अचानक निरीक्षण गरेको जनाइएको हो ।
मुख्यमन्त्री सिंहका अनुसार गृह मन्त्रालयका कर्मचारीमा खासगरी कार्यालय समयमा उपस्थित नहुने, हाजिरी गरेर बेपत्ता हुने जस्ता समस्या देखियो।
कर्मचारी बाहिर जाँदा लगबुकमा कारण नखुलाउने, स्विकृती बिनै बिदामा बस्ने समस्या कर्मचारीमा देखियो ।
मुख्यमन्त्री सिंहले जनताको काममा ढिलाइ गर्ने कर्मचारीलाई कारबाही गरिने अभिव्यक्ति समेत दिए ।
एक्कासी कार्यालयमा पुगेर अनुगमन गर्ने मुख्यमन्त्री सिंहको यो पहिलो अवस्था होइन् । यसअघि पनि उनले एक्कासी कार्यालयहरू अनुगमन गरेको देखिएको थियो ।
मुख्यमन्त्रीको समर्थकहरूले उनको यो काम गर्ने स्टाइलको प्रशंसा गर्छन् भने आलोचकहरुले यसलाई राजनितिक स्टन्टको पनि संज्ञा दिइरहेका छन् ।