राकु झा
सरकार सजीव हुन्छ कि निर्जीव ? सरकार कस्तो हुनु पर्दछ ? सरकार व्यक्ति चिन्ने हुनुपर्दछ वा नचिन्ने ? सरकारको जात, धर्म र समुदायसंग कस्तो सम्बन्ध हुनुपर्दछ ? यी सबालहरु लोकतन्त्रमा जीवन्त रहने गर्दछ । यस्ता सबालहरु त्यस्ता जात, वर्ग, समुदाय वा धर्मका नागरिकको मानसपटलमा सुषुप्त संवेगका रुपमा उत्पन्न हुने गर्दछ जसको भावनामा राज्यबाट फरक व्यवहार भएको अनुभूति हुने गर्दछ । जब सरकार यस्ता सबालमा साझा नभएको महसुश हुन्छ तब नागरिकको फरक दृष्टिकोण अभिव्यक्त हुने गर्दछ ।
लोकतन्त्र विचार र व्यवहारका दृष्टिले उन्नत शासन प्रणाली मानिन्छ । आजको लोकतन्त्रलाई कुनै अंलकारिक विशेषणले विभूषित गरि राख्नु पर्दैन । वास्तविक लोकतन्त्रमा तर तापनि को प्रयोग गरि जनतालाई अधिकार दिनु लोकतन्त्र नै होइन ।
⌈ सुरक्षा ब्यारेक जहाँ बन्दुकले शक्ति देखाउँछ त्यहाँ एक धर्मको मन्दिर र मुर्ती रहनुले के अन्य धर्मका नागरिक सो राज्यमा आफू राज्यबाट समान सुरक्षा पाउनेमा विश्वस्त हुन सक्छ ?∫
लोकतन्त्रमा समावेशी, धर्मनिरपेक्ष, अग्रगामी, समाजवादी, वैज्ञानिक जस्ता विभूषण दिनु नै लोकतन्त्रलाई जटिल बनाउनु हो । लोकतन्त्रमा त नागरिकले स्वतन्त्रताको अनुभूति गर्न पाउनु पर्दछ । त्यस्तो स्वतन्त्रता सरकारको अवरोध रहित हुनु पर्दछ । सरकारको भूमिका त स्वतन्त्रताको वातावरण निर्माणकर्ताको हुनु पर्दछ । तर वर्तमानमा जनताको लोकतन्त्र भनिए पनि व्यवहारिक प्रयोग विजेताबाट भएको हुन्छ । लोकतन्त्र आउने माध्यम संघर्ष र आन्दोलन हो । यस आन्दोलनका क्रममा विजेता त्यो समूह र समुदाय हुन पुग्दछ जसले नेतृत्व गरेको हुन्छ । यसमा नेतृत्वकर्ता दुई वर्ग माथि एकैचोटि विजेता बन्न पुगेको हुन्छ । एक जसको विरुद्धमा संघर्ष गरेको छ र अर्को जसको बलमा आन्दोलन सफल भएको छ अर्थात् भुई तहको नागरिक । यस पश्चात विजेताले संघर्षका सहयोद्धा समुदाय र जात, धर्मका नागरिक माथि शासन गर्न थाल्दछ । यसका लागि राज्यले संविधान भित्र अनेकन प्रावधान राखि लोकतन्त्रलाई आफू अनुकूल प्रयोग गर्ने बनाउँछन् । यसले गर्दा वास्तविक लोकतन्त्रको लाभबाट नागरिक वञ्चित रहन पुग्दछ ।
नागरिकको भावनात्मक विषयमा गरिने फरक फरक व्यवहारले राज्यप्रति नागरिकको भरोसा र आफ्नोपनमा ह्रास आउन थाल्दछ । यसको ज्वलन्त उदाहरणका रुपमा राज्यले आफूलाई धर्मनिरपेक्ष भने पनि कुनै एक धर्म प्रति आस्था देखाउनुलाई लिन सकिन्छ । सरकार नागरिकको भगवान हो । भगवान भनेको दु:खको सहारा हो । सरकारको शक्ति शस्त्रबाट प्रदर्शित हुने गर्दछ । तर शस्त्रधारी सरकार आफ्नो सुरक्षा ब्यारेकमा मूर्तिको भगवानको मन्दिर निर्माण गरी आफैं भगवानको खोजीमा रहनुले एक त नागरिकको सरकार प्रतिको भरोसालाई कमजोर बनाउँछ भने कुनै खास धर्मप्रति आस्था देखाई सरकार सबै धर्म समुदायको समान हुन नसकेको प्रमाणित गर्दछ । सुरक्षा ब्यारेक जहाँ बन्दुकले शक्ति देखाउँछ त्यहाँ एक धर्मको मन्दिर र मूर्ति रहनुले के अन्य धर्मका नागरिक सो राज्यमा आफू राज्यबाट समान सुरक्षा पाउनेमा विश्वस्त हुन सक्छ ?
धर्म अनुसार भगवान प्रतिको आस्था र पूजा फरक हुने गर्दछ । सरकारी अड्डा सबै धर्म संस्कृतिका नागरिकको लागि समान हुनुपर्दछ । त्यस्तो स्थानमा कुनै एक धर्म संस्कृतिको धरोहर निर्माण गर्नु उचित हुँदैन । तर विद्यालय परिसर होस् वा अस्पताल वा अन्य सरकारी कार्यालय नै किन नहोस्, त्यहाँ सरकार कै लगानीमा कुनै खास धर्म समुदायको आस्थाको धरोहर बनाइएको भेटिन्छ । यस्तो दृश्यका सामु फरक धर्म संस्कृतिका नागरिक त्यस्ता विद्यालयमा आफ्नो सन्ततिको भविष्य उज्जवल भएको कल्पना गर्न सक्छन् या पढाईका लागि भगवानको मूर्ति चाहिने भए त्यस्ता समुदाय वञ्चितिमा परेन र ? विरामी निको हुनलाई भगवानको प्रार्थना गर्न अस्पतालमा भगवान चाहिने भए फरक धर्मका नागरिक त मर्नु नै पर्ने भएन र ? सरकारी कार्यालयमा सेवा पाउन भगवानको मूर्तिका अगाडि शिष निहुराउनु पर्ने भए फरक धर्मका नागरिक सरकारी सेवाबाट बञ्चित हुनु परेन र ?
त्यसैले यो प्रश्नको उत्तर जरुरी छ कि सरकार सजीव हो कि निर्जीव ? सजीव हो भने यस्ता एक धर्मी उपद्रव किन ? सरकार निर्जीव हो भने यस्तो उपद्रव गर्ने को ? के लोकतन्त्रमा यसलाई सही मान्न सकिन्छ ?