क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरीको राजविराज नगरपालिका-४ का ३० बर्षिय औरंगजेब आलम हत्या प्रकरणमा परिवारले न्याय नपाउने चिन्ता लागेको छ ।
राजविराजमा शुक्रबार पत्रकार सम्मेलन गर्दै पीडित परिवारले आफूहरूलाई डरधम्की तथा घटनामा मिलापत्र गर्न आइरहेको प्रस्ताव आइरहेको बताएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै मृतक आलमको बुवा मो. हविवले विपक्षीले मुद्दालाई प्रभावित गर्न आर्थिक लोभ तथा धम्की दिने गरेको बताए ।
‘मिलापत्र गर्न प्रस्ताव पनि पठाइरहेका छन्, नत अर्को घटना समेत घटाउने समेत भन्ने गरेका छन्,’ उनले भने, ‘अहिलेसम्म त प्रहरी र अदालतले पनि निकै साथ दिएका छन् तर बजारमा पैसाले त सबैथोक मिलाउने हल्ला चल्ने गरेकोले डरले सताइरहेको छ ।’
घटनामा संलग्न सात जना मध्ये तीन जना पक्राउ परेर पुर्पक्षको लागि कारागार चलान भएपनि चार जना अझै फरार रहेको उनले बताए ।
मृतकका काका बबलु खानका अनुसार राजविराज ३ का ४६ बर्षिय मो. नासिर, राजगढ ६ का लाल खान र राजविराज- २ का मो. आशिक पक्राउ परेका छन् ।
उनले घटना संलग्न राजविराज -३ का मो. इमरान खान, मो. इर्साद, राजविराज २ का मो.असलम भन्ने तबरेज उ राजगढ ६ का मो. पिन्टु भने हुसैन खान अझै फरार रहेको बताए ।
गत असार ३ गते कुर्वानी दिने विषयमा विवाद सिर्जना गरी विपक्षीले रड , फलामे पाइप प्रहारबाट गम्भीर घाईते ओरंगजेबको ८ गते उपचारको क्रममा अस्पताल मृत्यु भएको मृतकका बुबाले बताए ।
उनले यसमा न्यायमा सहयोगको लागि सरोकारवाला पक्षसँग आग्रह गरेका छन् ।