क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यररत चिकित्सक उपचारमा लापरबाही गरेपछि अस्पतालको अवस्था तनावग्रस्त बनेको छ ।
शुक्रबार पीडित पक्षले अस्पताल प्रशासनसँग क्षतिपूर्तिको माग गर्दै अस्पतालमा चर्को नाराबाजी गरेका छन् ।
भदौ १२ गते राजविराज नगरपालिका -४की ३५ बर्षीय रिता देवी साहलाई पित्तथैलीमा रहेको पत्थरीको उपचार गराउन छिन्नमस्ता अस्पताल लगिएको थियो ।
रिताको भाई राजकिशोर साहका अनुसार उनलाई डाक्टरले अप्रेशन गर्नुपर्ने सल्लाह दिए । भदौ १३ गते अस्पतालमा कार्यरत सर्जन डाक्टर यमेश यादवको नेतृत्वको मेडिकल स्टाफको टोलीले उनको अप्रेशन थाल्यो । तर अप्रेशनमा लापरबाही भएर बिरामीको अवस्था बिग्रिएपछि डाक्टर यमेश फरार भए ।
‘पित्तथैलीको पत्थरीको अप्रेशन गर्दै गरेन, अन्य ठाउँमै गरेर समस्या जटिल बनाइदियो,’ राजकिशोरले भने, ‘यमेश डाक्टर अप्रेशन भयो भन्दै फरार हुनुभयो तर उहाँकै टोलीका स्टाफले अप्रेशनमा गल्ती भएको छ बिरामीलाई बाहिर लान भन्नुभयो।’
त्यसपछि विरामीलाई उपचारको लागी विराटनगरस्थित नोबेल अस्पताल पुर्याएपछि त्यहाँका चिकित्सक अप्रेशनमा भएको गल्तीले विरामीको अवस्था जटिल भएको बताएको राजकिशोरले बताए ।
उनले भने, ‘त्यहाँ हामीलाई चार्ट हेराउँदै अप्रेशन गर्नुपर्ने कहाँ थियो र के गर्यो भने बताउनुभयो, हामीले डाक्टरलाई गुहारे, उहाँहरूले हामी प्रयास गर्छौँ बाँकी भगवानसँग प्रार्थना गर्नुस् भन्नुभयो ।’
तर त्यहाँका टिमले उनको सफल अप्रेशन गरेको राजकिशोरले बताए । अहिले बिरामी निको रहेको उनले जानकारी दिए ।
त्यसपश्चात पीडित पक्षले अस्पताल प्रशासनसँग डाक्टरको लापरवाहीले समस्या आएको भन्दै क्षतिपूर्ति माग गरेपछि अस्पतालले डाक्टरले तिर्ने र डाक्टरले अस्पतालले तिर्ने भन्दै आलटाल गरेको राजकिशोरले बताए ।
‘पहिला त गप हुँदा क्षतिपूर्ति दिने भनेर अस्पतालले भन्यो तर अहिले आलटाल गरिरहेको छ,’ उनले भने।
रिता एकल महिला हुन् । उनको तीन छोरी एक छोरा छन् ।
यस घटनाबारे बुझ्न अस्पताल प्रशासनसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् ।