क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । अपराधिक उपद्रव मुद्दामा जिल्ला प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा रहेको प्रमोद कुमार साह राणालाई रिहाईको माग गर्दै कार्यालय अगाडि प्रदर्शन गरिरहेका आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ ।
बिहिबार दिउँसो जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीहरूले कार्यालयको गेटलाई धकेलेर भित्र छिर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको हो ।
प्रहरीले लाठीचार्ज गरेपछि प्रदर्शनकारीहरुले प्रहरीउपर ढुंगामुढा प्रहार गरेपछि उनीहरूबिच झडप भएको छ ।
झडपमा प्रहरीले केही आन्दोलनकारीहरूलाई नियन्त्रणमा समेत लिएको छ ।
गत मंगलबार राजविराज नगरपालिका -७स्थित २ नं नापी टोलीको कार्यालयमा कर्मचारी र सेवाग्राहीबिच अनुचित लेनदेनको विवाद भन्दै राणाले विवादको भिडियो खिचेका थिए ।
त्यसपश्चात नापी कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई गरेको पत्रचार अनुसार अपराधिक उपद्रव मुद्दा चलाउँदै राणालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।