क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । नयाँ कमला पुल निर्माणको माग गर्दै आमरण अनसनमा बसेका कमला पुल निर्माण संघर्ष समिति र मधेश प्रदेश सरकार बीच ४ बुँदे सहमतिपछि आमरण अनशन स्थगित भएको छ ।
दुबै पक्षबीच सम्झौता भएसँगै शुक्रबार मुख्यमन्त्री सतिश कुमार सिंहले आमरण अनशनमा बसेका युवाहरुलाई जुस खुवाएर आमरण अनशन तोडाएका छन् ।
मधेश प्रदेश सरकार र नयाँ कमला पुल निर्माण बीच सम्झौता पत्रमा नयाँ पुल निर्माण काम तत्काल सुरु गरिने सहमति भएको छ । नयाँ कमला पुलका लागि आवश्यक बजेट आर्थिक बर्ष २०८२/०८३ को वार्षिक बजेटमा संघ सरकारबाट राख्न पहल गर्ने वा सम्पुर्ण बजेट मधेश प्रदेश सरकारकै श्रोतबाट ब्यहोर्ने सम्झौता पत्रमा उल्लखे छ ।
त्यस्तै, २०८१ मंसिर १ गते भित्र पुल निर्माणका लागि आवश्यक रहेको डीपीआर तयारीका लागि बोलपत्र आह्वान गर्ने र नयाँ कमला पुल निर्माण संघर्ष समिति सिरहा–धनुषाको संघर्षका सम्पुर्ण कार्यक्रम स्थगित गर्ने उल्लेख रहेको छ ।
सहमति पत्रमा प्रदेश मुख्यमन्त्री सिंह र संघर्ष समितिका संयोजक इन्जिनियर प्रविण यादवले हस्ताक्षर गरेका छन् । गत भदौ ४ गतेदेखि संघर्ष समितिका संयोजक इन्जिनियर यादवको नेतृत्वमा १० जना युवाहरुले आमरण अनशनमा बसेका थिए ।