क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । हेल्प मधेशी मलेसियाद्वारा सप्तरीको सप्तकोशी नगरपालिका-११ निवासी विपन्न परिवार सत्यनारायण मण्डललाई आर्थिक सहयोग गरेको छ ।
हेल्प मधेशी मलेसिया जोहार शाखाले आइतबार विपन्न मण्डलको परिवारलाई आर्थिक सहयोग गरेको हो ।
मण्डलको छोरा कुसुमलाल मण्डल एक बर्ष अगाडी कामको सिलसिलामा मलेसियाको जोहारबारु गएको थियो । गत जेष्ठ २९ गते उनले आफ्नै कोठामा आत्महत्या गरेका थिए ।
हेल्प मधेशी सप्तरीकी अध्यक्ष रिना झाकी अगुवाईमा मृतका पत्निलाई सहयोग स्वरुप २१ हजार नगद दिएको जनाएको छ ।
मृत मण्डलको शरीर नेपाली दूतावासको सहयोगमा नेपाल ल्याएका थिए । मृत मण्डलको १ छोरा एक छोरी छन ।
‘केही वर्ष अगाडि छोरीको बिहेमा लिएको ॠणले घर बिहिन बनाए, छोरालाई कमाउन बिदेश पठाएको विदेशले छोरा बिहिन बनायो ।’ उनका बुबाले सुनाए ।
मृतको बुवा सिटी रिक्सा चलाई परिवारको भर्न पोषण गर्दै आएका छन् ।
सो कार्यक्रममा सोही वडाका वडा अध्यक्ष डोलेश्वर खड्का, हेल्प मधेशी सप्तरीकी अध्यक्ष रिना झा, कोषाध्यक्ष रामजी यादव, सचिव समीर लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।















