क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । पत्रकारलाई कोठामा थुन्दै सञ्चार उपकरण खोसेर दुर्व्यवहार गर्ने सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलसहितलाई कारबाही गर्न प्रहरीमा जाहेरी परेको छ ।
बुधबार पत्रकार महासंघ सप्तरीका सचिव रहेका कान्तिपुर टीभीका संवाददाता रामनारायण विश्वास, पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष रहेका राजविराज दैनिकका पत्रकार नवीन गुप्ता र नेपाल समाचारपत्रका संवाददाता विद्यानन्द रामलाई अध्यक्ष मण्डलसहितले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा थुनेर सञ्चार उपकरण खोस्दै दुर्व्यवहार गरेको भन्दै जाहेरी दिएका हुन् ।
केही वडा अध्यक्षसहितका जनप्रतिनिधि र स्थानीयले अध्यक्ष मण्डलविरुद्ध शुरु गरेको आन्दोलनको मंगलबार रिपोर्टिङ गर्न गएका उनी पत्रकारलाई पालिका अध्यक्ष मण्डलले मंगलबार कोठामा थुनेर दुर्व्यवहार गरेका थिए ।
घटनामा संलग्न पालिका अध्यक्ष मण्डलसहितलाई कारबाहीको माग गर्दै पीडित तीनै जना पत्रकारले जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी गजुसिद्धी बज्राचार्यसमक्ष जाहेरी दिएका छन् ।
जाहेरी लिँदै २ दिनमा जाहेरी अध्ययन गरेर दर्ता प्रक्रिया अगाडी बढाउने एसपी बज्राचार्यले प्रतिक्रिया दिए ।