क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । राजगढ गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले रिपोर्टिङमा गएका कान्तिपुर टेलिभिजनका सम्वाददाता आरएन विश्वाससहतिका पत्रकारलाई केहीबेर थुन्नुका साथै दुर्व्यवहार गरेको छ । गैरकानुनी रूपमा गाउँसभा गरेको भन्दै केही जनप्रतिनिधि र स्थानीयले मंगलबार पालिका अध्यक्ष मण्डललाई ज्ञापनपत्र बुझाउने कार्यक्रमको समाचार संकलनमा गएका पत्रकारमाथि अध्यक्ष मण्डलले अभद्र व्यवहार गरेको हो ।
‘दिउँसो १ बजिसक्दा पनि प्रमुख प्रशासकीय अधिकृत कार्यकक्षमा थिएनन् । मैले त्यही खाली कार्यकक्षको भिडियो खिचिरहेकै बेला गाउँपालिका अध्यक्ष आइपुग्नु भयो । उहाँसँग १२-१५ जनाको समूह थियो । उहाँ एक्कासी विवादमा उत्रिनु भयो,’ घटनाबारे सम्वाददाता विश्वासले भने, ‘म कान्तिपुर टेलिभिजनको रिपोर्टर हुँ भनेर माइक देखाउँदा उल्टै मेरो माइक खोस्न लगाइयो ।’
अध्यक्ष मण्डलले मेरो आदेशबिना हाकिमको कार्यकक्षमा किन प्रवेश गरेको ? यो अफिसको मालिक म हो, भन्दै पत्रकारलाई धम्की दिनुका साथै आफ्ना समर्थक लगाएर केहीबेर सोही कार्यकक्षमा थुनिदिएको सम्वाददाता विश्वासले जानकारी दिए । पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष नवीन गुप्ता र नेपाल समाचारपत्रका संवाददाता विद्यानन्द राममाथि पनि पालिका अध्यक्ष मण्डलले दुर्व्यवहार गरेको थियो ।
अध्यक्षले दुर्व्यवहार गरेको घटनाको सीसीटिभी फुटेज पालिकाकै क्यामेरामा रेकर्ड भइरहेको आफूहरुले देखेको सम्वाददाता विश्वासले जनाएको छ । पत्रकारमाथि दुर्व्यवहारको घटनापछि नै आन्दोलनरत पक्षले ज्ञापन बुझाउनुका साथै अध्यक्षविरुद्ध प्रदर्शन गरेका थिए । घटनालगत्तै सप्तरी प्रहरीलाई खबर गरिएको जनाउँदै यस्ता घटनाले पत्रकारले असुरक्षित महसुस गरिरहेको कान्तिपुर टेलिभिजनका सम्वाददाता विश्वासले बताए ।