क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । साउन महिनाको तेश्रो सोमबार, सप्तरी लगायत देशैभरिका शिवालयहरुमा बिहानैदेखी दर्शनार्थीहरु तथा पूजपाठ गर्नेहरुको भिडभाड रहेको छ ।
साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा फुल, दूध, बेलपत्रा लगायत जल चढाई पूजा गर्ने प्रचलन रहेको छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
साउन महिनाको सोमबारलाई अत्यन्त शुभ मानिन्छ । साउनको सोमबार व्रत र पूजापाठ गर्दा भगवान शिव खुश हुनेका साथै आफ्नो आकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।
शिव पुराण अनुसार यसै महिनामा माता पार्वतीले शिव भगवानलाई आफ्नो पतिको रुपमा पाउँँन साउन महिनाका प्रत्येक सोमबार ब्रतमा बसी शिव भगवानको आराधना गरेको थियो । भगवान शिवले माता पार्वतीको पूजाबाट प्रसंग भई इच्छा अनुरुप वर्दाण दिएका धार्मिक मान्यता रहेको छ ।
साउनको सोमबार व्रत कुमारी कन्या, महिला र पुरुषले आफ्नो इच्छा र आकांक्षा प्राप्तिको लागि गर्ने गरिन्छ ।
यस वर्षको साउन महिनामा चार वटा सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर, कुमारी कन्या, महिला र पुरुषहरुले शिवको भक्तिपूर्वक पूजा पाठ गर्ने गरिन्छ ।
यसै अबसरमा बिहानैदेखी सप्तरीका शम्भूनाथ, अन्कुरी महादेव, नर्मदेश्वर महादेव, राजबिराज भगवती मन्दिर स्थित रहेको शिव मन्दिर लगायत शिवालयहरुमा पूजा पाठका साथै काँधमा बोकेर जलाशयहरुबाट जल ल्याई भगवान शिवलाई समेत चढाउने गरेको छ ।
साउनको प्रत्येक सोमबार काठमाडौं स्थित रहेको बाबा पशुपतिनाथ मन्दिरमा समेत बिहानैदेखी भक्तजनहरुको भिडभाड लाग्ने गर्छन ।
त्यस्तै, साउन महिनामा भारतको झारखण्डमा रहेका वैद्यनाथ महादेवलाई गेरुवस्त्रधारण गरी सुल्तानगंजबाट काँधमा जल बोकेर १०५ किलोमिटर नागै खुट्टाले हिडेर वैद्यनाथ बाबालाई जल चढाउने गर्छन ।