रूपेश यादव/ प्रवेश मिश्र
राजविराज । विभिन्न १० बूँदे मागसहित राजगढ गाउँपालिकाका जनप्रतिनिधिहरुसहित स्थानीयवासीले प्रमुख जिल्ला अधिकारी सप्तरीका(सिडिओ)लाई ज्ञापनपत्र बुझाएको छ । कानून विधि,पद्धति प्रक्रिया पूरा नगरी २०८१/३/ १० गते राजगढमा भएको १३ औँ गाउँसभा पुनः सञ्चालन सहित राजगढ गाउँपालिकाको उनीहरूले सप्तरीका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मग्रातिलाई ज्ञापन पत्र बुझाएका हुन् ।
आइतवार राजगढ गाउँपालिका वडा नं ५का वडा अध्यक्ष दुखीलाल भन्ने देवेन्द्र प्रसाद साहको नेतृत्वमा १ नम्बर वडाला अध्यक्ष उपेन्द्र यादव, २ नं.का वडा अध्यक्ष जितेन्द्र कुमार यादव लगायत १३ जना सदस्य सहित जम्मा ६३ जनाको हस्ताक्षर सहितको ज्ञापनपत्र स्थानिय अगुवा तथा नेता रामाकान्त यादवले सिडियो समक्ष बुझाएको जानकारी गराएका हुन् । अगुवा नेता रामाकान्त यादवका अनुसार ३३ जना कार्यपालिका सदस्य मध्ये उपाध्यक्षसहित १७ जनालाई बायकट्ट गरि पालिका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले १३ औँ गाउँसभा गरेपछि प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाएको हो ।
उनीहरूले १३ औँ गाउँसभा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ विपरित भएको भन्दै बदर गरी पुनः गाउँसभा गर्नुपर्ने, २०७९/०८० र २०८०/२०८१ मा कुन निकायबाट कति रकम गाउँपालिकाले प्राप्त गरेका विवरण सहित २०८० को लेखापरिक्षणको प्रतिवेदनको विवरण, वडा नं. ३ अन्तर्गतका करिब २२५ जनाले ०७९/०८०को सामाजिक सुरक्षा तत्काल उपलब्ध गराउनुपर्ने माग राखेको छ ।
त्यस्तै, कार्यालयमा कार्यरत स्थायी, अस्थायी, करार र डोरहाजिरीको विवरण, पालिकालाई आर्थिक व्यवभार पर्ने गरी अध्यक्षको मातहतमा रहेको ३ वटा मोटरसाईकल र दुई वटा स्कारपियो राख्नुको कारण सहित अध्यक्षले नै स्पष्टिकरण दिनुपर्ने, कर्मचारीहरु नियमित कार्यालय नआउनुको कारणको जानकारी, स्वयमसेवक शिक्षक तथा प्रशासनिक सहायक पदका कर्मचारीले तलबभता यथाशिघ्र मिलाउनु पर्ने माग गरेका छन् ।
यी माग पुरा नभए उनीहरूले आन्दोलन थाल्ने चेतावनी समेत दिएका छन् । आन्दोलनमा साउन २७ गते गाउँपालिका कार्यालय परिसरमा धर्ना, साउन २९ गते कार्यालयमा तालाबन्दी र ३१ गते नारा जुलुस गर्ने गरी चरणबद्ध कार्यक्रम समेत घोषण गरेका छन् ।