क्रान्ति केन्द्र सम्वाददाता
विराटनगर । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदी फिल्मी स्टाइलमा फरार भएका छन् ।
२४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका थिए ।तर उनी कोशी अस्पतालबाट फरार भएका हुन् ।
पेट दुख्ने समस्याका कारण बिरामी परेका अहमदलाई मंगलबार उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो । प्रहरीका अनुसार बिहीबार बिहान सवा ५ बजेतिर उनी अस्पतालबाट फरार भएका हुन् । प्रहरीका अनुसार शाौचालय जाने क्रममा अस्पताल निगरानीमा खटाइएका प्रहरीलाई धकेलेर लडाउँदै उनी फरार भएको थियो ।
विराटनगर महानगरपालिका-८ घर भएका अहमद जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी हुन् ।भारततर्फ भाग्नसक्ने सम्भावनालाई मध्यनजर गरेर नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाएको छ ।जबरजस्ती करणी मुद्दामा अहमदलाई जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते १२ वर्ष कैद र ५ लाख जरिवानाको फैसला गरेको थियो । अदालतको फैसला अनुसार २०९१ साल फागुन ३ गते मात्रै कारागारबाट छुट्छन् ।