क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । छिन्नमस्ता गाउँपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख संजय मेहतासँग कार्यलयमा कामकाज गरिरहेको बेला एक जना वडाध्यक्षले दुर्व्यवहार गरेको छ ।
कार्यलयका कर्मचारीहरूले शुक्रबार एक विज्ञप्ती जारी गर्दै वडा नं ५ का वडा अध्यक्ष प्रकाश ठाकुर र डोर हाजिरीमा कार्यरत कर्मचारी रामरुप शर्माले उनीसँग दुर्व्यवहार गरेको जनाएको हो ।
उनीहरूले दोषीलाई कारबाहीको माग गर्दै कारबाही नगरेसम्म कार्यलयमा कामकाज गर्न नसक्ने बताएका छन् ।
विज्ञप्तीमा भनिएको छ, ‘मिति २०८१/०४/११ गते शुक्रवार यस छिन्नमस्ता गाउँपालिका कार्यालयका आर्थिक प्रशासन शाखा प्रमुख श्री संजय मेहतालाई कार्यालयको आफ्नो कक्षमा काम गरिरहेको बखत वडा न. ५ का वडा अध्यक्ष श्री जय प्रकाश ठाकुर र डोर हाजिरीमा कार्यरत कर्मचारी श्री रामरुप शर्मा समेतले भुक्तानीको विषयमा बिबाद गरी दुर्व्यवहार, गालिगलौज लगायत अपहरण गर्ने जस्ता डर त्रास धम्की देखाएको हुदा कार्यालयमा बसी कामकाज गर्न असुरक्षित महशुस गर्नुका साथै कामकाज गर्न नसकिने वातावरणको सिर्जना भएकोले यस किसिमको अमानविय घटनामा संलग्न जो कोही उपर तत्काल कडा भन्दा कडा कार्यवाही गर्नको लागी सम्वन्धित निकायको ध्यानाकर्षण गराउदै दोषीहरुलाई यथाशिघ्र कडा कार्यवाही नभएमा कार्यालयमा काम गर्न नसकिने व्यहोरा सम्वन्धित सबैमा जानकारी को लागी यो प्रेस विज्ञप्ति जारी गरेका छौं ।’