पोखरा । पोखरामा रहेको नाइट क्लब ‘क्लब सिक्सटिन’मा एकजना ग्राहकमाथि गत १५ गते बिहान बाउन्सरबाटै कुटपिट भयो । पोखरा महानगरपालिका ११ बस्ने २१ वर्षीय आयुष थापालाई नाइट क्लबका बाउन्सर मुस्ताङ घर भएका रिजन गौतम र पोखरा १० का बिबेक गुरुङले हेल्मेटले कुटेका थिए ।
पीडित वडा प्रहरी कार्यालय, बैदाम पुगेर उजुरी गरे । पीडितको उजुरीको आधारमा प्रहरीले १७ गते कुटपिटमा संलग्न दुबै बाउन्सरलाई पक्राउ गर्यो । आयुषको आमा हिरा थापाले १८ गते जाहेरी दिइन् । प्रहरीमा जाहेरी गएपछि दर्ता नगर्न क्लबको तर्फबाट अनेक दबाब आयो ।
तर, भनसुनलाई नसुन्ने, कानुनलाई टेकेर काम गर्ने स्वभावका बैदाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेन्द्र श्रेष्ठले मुद्दा दर्ता गरेर पीडकमाथि कानुनी कारवाहीका लागि प्रक्रिया अगाडी बढाए । डीएसपी श्रेष्ठले कानुनबाहेक कसैको नसुनेपछि उनी नाइट क्लब माफियाको आँखाको तारो बने ।
त्यसपछि उनको सरुवाका लागि नाइट क्लबका सञ्चालक रमेश कार्की लागिपरे । तर, काम कारवाहीको उनको रेकर्ड हेर्दा सरुवा गर्न मिल्ने कुनै आधार भेटिएन । त्यसपछि सुरु भयो नयाँ प्रपञ्च । प्रहरी प्रधान कार्यालय र अख्तियारमा डीएसपी श्रेष्ठविरुद्ध विभिन्न आरोप लगाएर बेनामे उजुरी हालियो ।
त्यसको केही दिनपछि अन्ततः डीएसपी श्रेष्ठको सरुवा भयो । प्रहरी प्रधान कार्यालयले सोमबार उनको सरुवा गरेको हो । उनी २०८० असोजमा बैदाममा हाजिर भएका थिए । श्रेष्ठको ठाउँमा बैदाममा डीएसपी सन्तोष निरौलालाई पठाइएको छ ।
पोखरा पर्यटन परिषदले भन्यो – डीएसपी श्रेष्ठसँग रिसिइवी साँधियो
प्रहरी प्रधान कार्यालय र अख्तियारमा परेको बेनामे उजुरीको उजुरीकर्तामा ‘पोखराका पर्यटन व्यावसायीहरू’ उल्लेख छ । तर, त्यसमा हस्ताक्षर भने एकजनाको मात्रै छ । क्लब सिक्सटिनका सञ्चालक कार्कीले नै उक्त उजुरी हालेको स्पष्ट हुन्छ ।
यो विषय बाहिर आएपछि र डीएसपीको सरुवा भएपछि पोखरा पर्यटन परिषदले परिषदमा आवद्ध कुनै पनि पर्यटन व्यावसायीबाट उजुरी नपरेको स्पष्ट पारेको छ । परिषदले सोमबारै एक विज्ञप्ति जारी गर्दै व्यक्तिगत रिसिइवीको आधारमा उजुरी हालेको हुनसक्ने स्पष्ट पारेको हो ।
परिषदमा आवद्ध १७ संस्थाले सामूहिक रूपमा गण्डकी प्रदेशका प्रहरी प्रमुख, कास्कीका प्रमुख जिल्ला अधिकारी र कास्कीका प्रहरी प्रमुखलाई ज्ञापनपत्र पनि बुझाएको छ । उनीहरूले प्रहरीसँग रिस साँध्न अमुक व्यक्तिले उजुरी दिएको तर, पर्यटन व्यवसायीले उजुरी नदिएको त्यसमा उल्लेख गरेका छन् ।
कुनै पनि व्यक्तिले आफ्नो स्वार्थका लागि अमुर्त श्रोतको आधारमा दिएको निवेदनलाई नै आधार मानी कसैलाई कारबाही गर्दा भविष्यमा इमान्दारीका साथ काम गर्ने व्यक्तिको मनोबल नगिरोस् भन्नेमा सबै सचेत हुनुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
पोखराका कतिपय नाइट क्लबहरुमा बाउन्सरले सेवाग्राहीलाई कुट्ने गरेको घटना पटकपटक घट्छन् । तर, घटना क्लबभित्र नै लुकाइने गरिएको छ । यतिमात्र होइन, नाइट क्लब, डान्स बार, डिस्कोका कारण स्थानीयसँगै पर्यटक तथा प्रहरीसमेत हैरानीमा खेप्दै आएका छन् ।