क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । दुई दशक अघि बिहे गरेर छिन्नमस्ता गाउँपालिका -३ आएकी मिरा देवी मंडलले बुधबार नेपाली अंगिकृत नागरिकता प्राप्त गरेकी छन् ।
छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले उनको सनाखत गरेपछि बुधबार जिल्ला प्रशासन कार्यालय सप्तरीले उनलाई नागरिकता दिएको हो ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंक्रातीले आफै उनलाई नागरिकता प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।
बिहेको ४ बर्षपछि उनको श्रीमान रामलखन मंडल हराएपछि उनलाई नागरिकता प्राप्त गर्न गाह्रो भएको थियो । त्यसयाता उनले पटकपटक सरकारी अड्डा धाइरहँदा उनले नागरिकता प्राप्त गर्न सकेकी थिइनन् ।
अदालतले उनलाई नागरिकता दिन परमादेश गरेपनि उनले नागरिकता प्राप्त गर्न नसकेको पालिका अध्यक्ष विद्यानन्द चौधरीले बताए ।
‘करिब २२ बर्ष अगाडि बिहे गरि नेपाली दुलही भै भित्रीएकी मिरा देवी बिहे भएको ४ बर्षमै श्रीमान सम्पर्क बिहिन भएपछी उनले नागरिकता पाएको थिएन् , त्यसबिचमा पटक-पटक नागरिकताको लागि जिल्ला प्रशासन कार्यालय सप्तरी धाउछदाधाउदै थाकेर उनले आश मारेकी थिइन्,’ अध्यक्ष चौधरीले भने, ‘त्यसमा अदालतकको परमादेशले पनि निजको नागरिकता दिन आदेश गरेको थियो तरपनि उनले नागरिकता पाइनन् , म उहाँलाई चिन्दछुँ, पछि मलाई यो घटना थाहा भएपछि म यसमा लागे, अन्तत: आज म आफै सनाखतमा बसेपछि उहाँले २२ बर्ष पछि नागरिकता पाउनुभयो ।’
मिराको एक १८ बर्षिय छोरा र १६ बर्षिय छोरी रहेको छ । आमले नागरिकता पाएपछि अब छोराछोरीको पनि नागरिकता लिने बाटो खुलेको अध्यक्ष चौधरीले बताए ।
नागरिकता पाएपछि मिरा प्रशन्न देखकी थिइन् ।उनले आफू नेपाली नागरिक भएपछि छोराछोरी भविष्य पनि सुरक्षित भएको बताईन् । ‘धेरै खुसी छुँ, यसमा पहल गर्नुहुने पालिका अध्यक्षज्युलाई धेरै धेरै आभार प्रकट गर्दछुँ,’ भावुक हुँदै मिराले भनिन् ,’हरेस खाइसकेकी थिएँ, अब नागरिकता पाउँछु भने आश थिएन्, आफुभन्द आफ्नो छोराछोरीको भविष्य नागरिकता बिना अन्यौल देखिरहेको थिएँ ।’