प्रवेश मिश्र
राजविराज । सप्तरीमा कार्यरत अधिकांश चिकित्सकहरुले मेडिकल प्रेस्क्रिपसन लेख्दा अस्पष्ट लेख्ने गरेका छन् ।
औषधिको अस्पष्ट लेखाइले गर्दा बिरामीहरू मार्कामा पर्ने गरेको हो । अस्पष्ट तरिकाले लेखिएको हुनाले औषधि दिन पनि अप्ठ्यारो हुने गरेको औषधि व्यवसायी नै बताउँछन् ।
‘यसरी प्रेस्क्रिप्सन नबुझदा बिरामीलाई चिकित्सकले लेखेको भन्दा अर्काे औषधि दिइने र त्यसले रोग निको हुनुभन्दा उल्टो समस्या बढाउने पनि हुनसक्छ,’ एक जना औषधि व्यवसायीले भने, ‘प्रेस्क्रिप्सन बुझिदैन औषधिको नामले अंदाज लगाइन्छ , स्पष्ट बुझ्न फेरि सोधेर आउनु पठाउँदा चिकित्सक निस्कि सकेको हुन्छन्, प्रेस्क्रिप्सन नबुझिँदा फेरि भोलिपल्ट बिरामीलाई खर्च गरेर आउनुपर्छ ।’
उनले एउटै ब्राण्डको औषधि एक दुई अक्षरले पनि फरक पर्ने भएकोले प्रेस्क्रिप्सन स्पष्ट नलेखिए यो समस्या कायमै रहने बताए । उनले भने, ‘औषधिको नाममा एक दुई अक्षरले औषधि फरक पर्छ, त्यसैले यो जटिल समस्या हो ।’
डाक्टरको कोड अफ इथिक्समा प्रेस्क्रिप्सन लेख्दा प्रस्ट बुझ्ने गरी लेख्नुपर्ने व्यवस्था गरिएको छ ।
प्रेस्क्रिप्सन नबुझिएका कारण गलत औषधि सेवन गरेर बिरामी समस्यामा परेको गुनासो आएपछि मेडिकल काउन्सिलले बुझिने अक्षर लेख्न डाक्टरहरुलाई निर्देशन दिएका थिए । यद्यपी यो अझ पनि सप्तरीमा कार्यरत अधिकांश चिकित्सकहरुले अबलम्बन गरेको देखिदैन् ।
यसको प्रमुख कारण चिकित्सकको निजि क्लिनिकमा बढी पेसेन्ट तान्ने मानसिकता रहेको मेडिकल जानकार बताउँछन् ।
‘यहाँको लगभग सबै चिकित्सकको निजि क्लिनिक छ, चिकित्सकले स्पष्ट औषधि लेखे बिरामीले कतै पनि लिन सक्छ तर अस्पष्ट भए औषधि बुझ्ने ठाउँ खोज्नुपर्छ,’ एकजना स्थानीयले भने, ‘उनको लेखाइ बुझ्ने ठाउँ भनेको निजि क्लिनिकको फार्मेसी हो, अनि औषधि अस्पतालमा लेखिए पनि बिरामीलाई उनको क्लिनिकमा पुग्नै पर्छ ।’
उनले अस्पातालमा औषधि नपाएपछि त्यहीँ बसेका उनका कर्मचारीले फलानो डाक्टरले लेखेको छ भने फलानो ठाउँमा जाउ भन्दै डाक्टरको क्लिनिक बताउने गरेको बताए ।
औषधिको जेनरिक नाम नलेखी ट्रेड नाम लेख्ने चिकित्सकको प्रवृत्ति
डाक्टरले औषधिको ब्रान्डेड(ट्रेड) नामको सट्टा जेनरिक (वैज्ञानिक) नामले औषधि सिफारिस गर्ने प्रावधान लागू गर्दा सस्तो पर्ने विशेषज्ञहरू बताउँछन्। तर डाक्टरहरुले यस्तो गरिरहेको पाइँदैन् ।
औषधिको अविष्कार जेनरिक नामले भए पनि औषधि कम्पनीले यसलाई आफ्नो ब्रान्ड नामले बजारमा ल्याउँछन् र चिकित्सकहरुले त्यसलाई प्रेस्क्रिप्सनमा लेख्छन् ।
चिकित्सकहरुले औषधि कम्पनीबाट कमिसन लिएर उनकै ब्राण्ड लेख्ने गरेकोले बिरामीलाई महंगो औषधि किन्नुपर्ने बाध्यता हुन्छ ।
एक जना औषधि व्यवसायीले भने, ‘औषधि कम्पनीले चिकित्सकलाई आफ्नो ब्राण्ड नाम लेखाउन कमिसन दिन्छन्, त्यस कामको लागि कर्मचारी राखेका हुन्छन्, यो सबै खर्च औषधिको मुल्यमा थपिन्छ र मूल्य थुप्रै गुणा बढ्छ । यसको फाइदा औषधि कम्पनीका मालिक, बिचौलिया र केही डाक्टरलाई हुन्छ भने बिरामीलाई महंगोमा औषधि किन्नुपर्छ ।,’
राजविराजका एक मेडिकल व्यवसायीले चिकित्सकले औषधिको जेनिरिक नाम लेखे बिरामीलाई ५ गुणा भन्दा कम मुल्यमा औषधि पाइने बताए ।
सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुले पनि औषधि कम्पनीबाट कमिसन लिएर औषधिको जेनरिक नाम नलेखि ब्राण्ड नाम लेख्ने गरेको छ ।