क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको एम एड प्रथम सेमेस्टरको परिक्षा केन्द्र यथावत राख्न माग गर्दै स्वतन्त्र बिद्यार्थी युनियनले क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् ।
आउँदो साउन ७ गतेदेखि हुने एम एड प्रथम सेमेस्टरको परिक्षाको केन्द्र लहान सराएपछि केन्द्र यथावत राख्न माग गर्दै सोमबार उनीहरूले ज्ञापनपत्र बुझाएका हुन् ।
‘हाम्रो क्याम्पस त्रिविभन्दा पनि पुरानो क्याम्पस हो, यस क्याम्पसमा आर्थिक, सामाजिक तथा राजनैतिक रूपले पिछडिएका वा कमजोर वर्गका विद्यार्थीहरू अध्ययन गर्न आउँछन् तसर्थ हाम्रो क्याम्पसको परीक्षा केन्द्र कुनै पनि बहानामा अत्यत्र सार्नु यदाकदा गलत मानसिकताको उपज जस्तो हामीलाई लागेको छ।’ पत्रमा भनिएको छ, ‘हाम्रो परीक्षा केन्द्र यथावत हाम्रो क्याम्पसमा नै रहनुपर्ने सम्पूर्ण विद्यार्थी, अभिभावक, नागरिक समाज लगायत स्वतन्त्र विद्यार्थी युनियनको पनि धारणा रहेको छ ।’
उनीहरूले मागलाई वेवास्ता गरिए कडा आन्दोलन गर्ने स्ववियु सभापति रंजित यादवले जानकारी दिए ।
महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको एम एड प्रथम सेमेस्टरको परिक्षा केन्द्र परीक्षाको परीक्षा केन्द्र सिरहाको एस मुरारका क्याम्पस लहान सारिएको छ ।















