क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । ४२ जना जनप्रतिनिधिहरू रहेको तिलाठी कोइलाडी गाउँपालिकामा २३ जना जनप्रतिनिधिहरूले सुचनाको लागि निवेदन दर्ता गराएका छन् ।
गाउँपालिका अन्तर्गतका ४ वडाध्यक्षसहित २३ जना जनप्रतिनिधिहरूले एकैसाथ सुचनाको लागि बुधबार पालिकामा निवेदन दर्ता गराएका हुन् ।
वडा नं १का वडाध्यक्ष दिनेश्वर मिश्र, ३का वडाध्यक्ष रमेश कुमार मुखिया, ६का वडाध्यक्ष रोशन सिंह तथा ८का वडाध्यक्ष सत्यनारायण यादवसहित, कार्यपालिका सदस्य र वडासदस्यहरूले निवेदन दर्ता गराएका हुन् ।
निवेदन मार्फत उनीहरूले आर्थिक वर्ष २०८१/८२ को बजेट तर्जुमा गर्दा अपनाइएको प्रक्रिया र निर्णयहरु, बिषयगत समिति तथा शाखाहरु र वडाहरुलाई उपलब्ध गराईएका बजेट सिलिङ्ग, त्यसका प्रकृया र निर्णयहरुको माग गरेका छन् ।
आर्थिक वर्ष २०७९/०८० र आर्थिक २०८०/८१ मा संचालन भएका योजना तथा कार्यक्रमहरु सहित गाँउपालिकामा भएका सम्पुर्ण खर्चको विवरण, करार, ज्यालादारी तथा अन्य कर्मचारी भर्ना गरि भुक्तानी दिइएको विवरणहरु माग गरेका छन् ।
निवेदनमा गत र चालु आर्थिक बर्षमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले सवारी साधन, सवारी भाडा, मर्मत खर्च र इन्धन खर्च के कति गरेको स्पष्ट खुल्ने विवरण समेत माग गरिएको छ ।
‘जनतासँग मेयर कार्यक्रमको नाममा भुक्तानी गरेको सम्पुर्ण प्रक्रिया, बील भरपाईसहितको विवरण, कार्यालयमा कर्मचारी हुदा पनि विद्यालयबाट दुई जना शिक्षकलाई तानेर शिक्षा शाखाको जिम्मेवारी दिनुको कारण,’ निवेदनमा माग गरिएको छ ‘गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगिताको प्रोपोजल र प्रतियोगितामा भएको खर्चको बिल भरपाई लगायतको सबै विवरण, आ.ब. २०८०-८१ मा कुन प्रक्रियाबाट के कति र कुन कुन कम्पनीको औषधि खरिद गरियो ? सो को विस्तृत विवरण ।’
गाउँपालिका अध्यक्ष चढ्ने स.१ त ५११ नम्बरको गाडीको चालु र गत आर्थिक बर्षमा मर्मत सम्भारमा भएको खर्चको बिल भरपाईसहितको सबै विवरण समेत माग गरिएको छ ।
असार १० गते तिलाठी कोइलाडी गाउँपालिकामा गाउँसभा गरिएको थियो । यद्यपी यी जनप्रतिनिधिहरूले उक्त गाउँसभा वडाको योजना संकलन बिनै भएको भन्दै गाउँसभा अमान्य रहेको बताउँदै आएका छन् ।
सुचना माग गरेका जनप्रतिनिधिहरूले आफ्नो समर्थन उक्त गाउँसभामा नरहेको निवेदनमै उल्लेख गरेका छन् ।
यी मागहरू पुरा नभएसम्म गाउँसभामा नजाने तिलाठी कोइलाडी गाउँपालिका वडा नं ३का वडाध्यक्ष रमेश मुखियाले बताए ।