उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-३, मोतिगडास्थित रामजानकी उच्च माध्यमिक विद्यालयमा छात्रवृत्ति कोष स्थापना भएको छ । विद्यालयमा प्रधानाध्यापक भई लामो समय काम गरेका रामभक्त यादवले विद्यालयमा छात्रवृत्ति कोष स्थापना गरिदिएका हुन् ।
यादवले मंगलबार बिहानै विद्यालयमा गएर प्रधानाध्यापक पुन्य बहादुर कार्कीलाई चेक हस्तान्तरण गरे । आफ्नै नामबाट एक लाख रुपैयाँको ‘रामभक्त यादव अक्षय छात्रवृत्ति कोष’ स्थापना गरेको उनले बताए ।
‘अहिले एक लाखको कोष स्थापना गरेको छ,’ उनले भने, ‘विस्तारै यसमा रकम थप गर्ने योजना छ ।’ आर्थिक अभाव कोही शिक्षाबाट बञ्चित नहोउन् र गरिब जेहेन्दार विद्यार्थीलाई सहयोग होस् भन्ने उद्देश्यले कोष स्थापना गरेको उनको भनाइ छ ।
गत वर्षबाट सेवा निवृत्त भइसकेका उनी २०४० सालदेखि २०५१ सालसम्म १२ वर्ष यस विद्यालयमा प्रअ भएर काम गरेका थिए ।