क्रान्ति केन्द्र सम्वाददाता
राजविराज ।सप्तरीको कञ्चनरुप नगरपालिकाको प्रमुख ललन प्रसाद गुप्ताले दोहोरा सुविधा लिएको खुलेको छ।उनले निजि सचिवालय व्यवस्थापनको नाममा दोहोरो भुक्तानी लिएको हो ।
२०७९ जेष्ठदेखि सचिवालय सहयोगीको नाममा बैजु कुमार साहलाई २० हजार मासिक भुक्तानी गरिएपनि प्रमुख गुप्ताले पनि सचिवालय व्यवस्थापनको नाममा खर्च भनि एकमुष्ट २ लाख ७३ हजार २ सय ४० रुपैया लिएको महालेखा परिक्षण प्रतिवेदनमा उल्लेख छ ।
पालिकाले नगरसभाबाट स्विकृत गरेको कार्य संचालन निर्देशिका,२०७८मा प्रमुखको निजी सचिवालयमा सहयोगी व्यवस्थापन गर्न बढीमा २० हजार मासिक खर्च गर्न सकिने र उक्त रकम एकमुष्ट उपल्ब्ध गराउने वा सचिवालयको लागि कर्माचारी राख्ने व्यवस्था छ ।
दोहोरो सुविधा बापतको बढी रकम गुप्ताबाट असुल गर्नुपर्ने महालेखाले उल्लेख गरेको छ । कञ्चनरूप नगरपालिकामा गत आर्थिक बर्षमा ११ करोड ४६ लाख बेरुजु थपिएको छ । अहिले पालिकाको कुल बेरुजु ६० करोड ११ लाख बढी रहेको छ ।