प्रवेश मिश्र
राजविराज। सप्तरी जिल्लाको सदरमुकाम राजविराजलाई जिल्लाकै मुख्य नाकासँग जोड्ने मुख्य सडकखण्ड हो राजविराज-कुनौली सडकखण्ड। यद्यपी यस सडकप्रति सरोकारवाला निकाय उदासिन देखिएका छन् ।
वर्षायाम सुरु भएसँगै यस सडकखण्ड अन्तर्गत तिलाठी कोइलाडी गाउँपालिका-१ स्थित राजविराज भंसार कार्यालय भन्दा करिब ३०० मिटर पुर्व सडकमा कटान लाग्ने गर्छ । कटान् लागेसँगै गाडी आवतजावतमा त रोक लागिन्छ नै पैदल आवतजावत गर्न पनि अपठ्यारो हुन्छ ।
लामोसमयदेखि कटानको समस्या भएपनि त्यसलाई ठोस रुपमा समाधान गरिएको छैन् ।यसबर्ष पनि बर्षा हुँदा नदिमा आउने बाढीले सडकमा कटान लाग्ने प्रबल सम्भावना छ । कटान लागेपछि अषाढ देखी कार्तिकसम्म सडक अबरुद्ध हुने गरेको स्थानीय बताउँछन् ।
भारतबाट कुनौली हुँदै आएका मालबाहक गाडीहरु राजविराज भंसार कार्यालय पुग्ने मुख्य बाटो यही हो । तसर्थ यो बाटो अबरुद्ध हुँदा सरकारले उठाउने राजश्वामा त असरपर्छ नै स्थानीयहरूको ज्यान समेत जोखिमा हुन्छ । बाढी आएको बेला त्यहीँ कटान् पार गर्न खोज्दा दुई जना भासिएर वेपत्ता भएका थिए। कटानको कारण उता पुर्व पट्टिका आधा दर्जनभन्दा बढी गाउँका बासिन्दाहरुलाई सदरमुकाम पुग्न पनि अति नै कठिनाई खेप्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।
सडकमा कटान लाग्ने यो समस्या तीन दशक भन्दा बढी समयदेखि रहेको तिलाठीकोइलाडी गाउँपालिका वडा नं १का वडाध्यक्ष दिनेश्वर मिश्रले बताए ।त्यहाँ भएर बग्ने खाँडो र जिता नदिको बहाव सहि रुपले व्यवस्थापन नहुँदा निरन्तर यो समस्याले यात्रुहरूलाई सास्ती दिँदै आएको उनले बताए ।