क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । तराई मधेशमा अहिले बटैया(अरुलाई जोत कमाउन दिएको जग्गा) दिएको जग्गा मोही हुने कि भन्ने हल्ला चलेको छ । यस अन्यौलतामा स्थानीयहरूले बटैया खेत धमाधम हटाउन थालेका छन् ।
यस सन्दर्भमा विभिन्न जग्गाधनी तथा व्यक्तिहरुले फोन गरेर तथा कार्यालयमा भेटेर जानकारी माग गर्न थालेपछि जेठ १६ गते भूमिसुधार तथा मालपोत कार्यालय, राजविराजले सो सम्बन्धमा भुमि व्यवस्थापन तथा अभिलेख विभागसँग निर्देशन माग गरेको थियो ।
यसमा विभागलेे कुनै जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन दिए वापत त्यस्तो व्यक्तिलाई सो जग्गामा मोहियानी हक प्राप्त हुन सक्ने कानूनी व्यवस्था नरहेको स्पष्ट पारेको छ ।
विभागद्वारा जारी पत्रमा भनिएको छ, ‘भूमि सम्बन्धी ऐन, २०२१ (चौथो संशोधन, (२०५३/०९/२४) को दफा २५ (२) बमोजिम यस भन्दा अघिनै मोही हक प्राप्त हुनेमा बाहेक कसैले कुनै जग्गावालाको जग्गा कुनै शर्तमा कमाउन दिए वापत त्यस्तो व्यक्तिलाई सो जग्गामा मोहियानी हक प्राप्त हुन सक्ने हाल कानूनी व्यवस्था नरहेको व्यहोरा आदेशानुसार अनुरोध छ ।’