क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । सप्तरी तिलाठी कोइलाडी गाउँपालिका -८ तोपामा तोपा बजार युथद्वारा संचालित टि-२० क्रिकेट प्रतियोगिताको उपाधी हनुमाननगर टिमले हात पारेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा ढिकलीलाई ४ विकेटले हराउँदै हनुमाननगरले उपाधी हात पारेको हो ।
टुर्नामेन्टका विजेतालाई १३ हजार रुपैयाँ तथा ट्रफी र उपविजेतालाई ७ हजार रुपैयाँ र ट्रफी प्रदान गरिएको थियो ।
फाइनल खेलमा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालको जिल्ला कार्यसमिति सदस्य निरज मुक्तिले पालिकामा पछिल्लो समय खेलकुदको स्तर घटेको टिप्पणी गरेका थिए । उनले पालिकाले खेलको नाम बजेट बाहिर खर्चेर पालिका भित्रका खेलाडीलाई प्रोत्साहन नगरेको बताए ।
‘पछिल्लो समय त पालिकामा खेलकुदको स्तर एकदमै घटेको छ, यसमा पालिकाले सहि तरिकाले लगानी नगर्नु हो ।’ उनले भने, ‘पालिकाको बजेट त पहिले पालिका भित्र खेलाडीलाई प्रोत्साहन गर्न खर्च गर्नुपर्ने हो तर यहाँ त खेलको नाममा बजेट विनियोजन गरेर बाहिरका खेलाडीमाथि खर्च गरि , बाहिर बाहिरकै टुर्नामेन्टमा खर्च गरिन्छ, बजेट सकाउने नियत मात्रै हो ।’
उनले यसले गर्दा पालिका भित्रको खेलाडीहरूको मनोबल कमजोर हुने गरेको बताए । ‘यो आर्थिक अनियमिता पनि हो र यसले स्थानीय खेलाडीको मनोबल पनि कमजोर हुन्छ,’ उनले भने।
उनले पालिकामा जसपा नेपालबाट निर्वाचित वडा अध्यक्षहरुलाई आ-आफ्नो वडामा खेलको लागि बजेट राख्न पनि आग्रह गरे ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि डा .बबी सिंहले खेलकुदको विभिन्न फाइदा भएकोले यसमा सहि तरिकाले स्थानीय सरकारले लगानी गर्नुपर्ने बताएकी थिइन् ।
कार्यक्रममा सोही वडाका वडाध्यक्ष सत्यनारायण यादव, जसपा नेपालका नेता राजेश्वर राय, काँग्रेसका स्थानीय नेता भगवान लाल यादवसहितका व्यक्तिहरुको उपस्थिति रहेकाे थियाे ।