क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । आफ्नो वडाको विकासको लागि सप्तरीको कोइलाडी गाउँपालिका-१ तिलाठीका युवाहरू सक्रिय देखिएका छन् ।मंगलबार तिलाठीका युवाहरूको एक समुह गाउँमा खानेपानीको उपलब्धता, सुचनामा पहुँचको प्रतिबद्धता, गाउँपालिका जाने मुख्य सडक छुट्याउने प्रतिबद्धतासहितको माग राख्दै वडा कार्यालय, गाउँपालिका र जिल्ला प्रशासन कार्यालय सप्तरी पुगेका छन् ।
उक्तमा मागहरूमा स्थानीय १ सय एक जनाको हस्ताक्षरसहित उनीहरूले ज्ञापनपत्र बुझाएका हुन् । राज्यको एक करौड बढीको लगानीमा तिलाठीमा खानेपानीको संरचना तयार भएपनि तीनै तहको सरकारले गम्भीरता नदेखाएकोले उक्त खानेपानी संचालन हुन नसकेको उनीहरूको ठहर छ ।तसर्थ उनीहरूले खानेपानी सुचारूको लागि स्थानीय तथा प्रदेश सरकारसँग माग गरेको छ।
उनीहरूले सार्वजनिक सम्पत्तिको संरक्षण, गाउँ फर्क गर्ने समय, नयाँ निर्माण हुने सडकमा पानीको निकास, अगामी तीन बर्षे कार्ययोजना बनाई मात्र कुनै योजनामा लगानी गर्ने रोड म्याप तयार गर्ने, नागरिकको निवेदन उपर पहल हुनेमा समयसहितको प्रतिबद्धताको माग गरेको छ ।
सातदिन भित्र माग पुरा नभए आन्दोलनमा जाने चेतावनी समेत उनीहरूले दिएका छन् ।
ज्ञापनपत्र बुझाउने टोलीमा स्थानीय दिलिप झा, संतोष झा, मुकेश यादव, सम्बोध झा, सुमित झा, अवधेश झा, आदित्य झा, सुन्दल कामैत, राहुल झा, अंकित मिश्र, चन्दन साह, सख्डेश्वर झा, हरेराम कामैत, विशाल झा लगायतको उपस्थिति रहेको थियो ।