क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मन्त्री पदबाट राजीनामा दिएका छन् । उपप्रधानमन्त्री यादवले सोमबार प्रधानमन्त्रीलाई पत्र लेख्दै राजीनामा दिएका हुन् । जनता समाजवादी पार्टी, नेपालका अध्यक्षसमेत रहेका यादवले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्य गर्न नसकिने बताएका छन् ।
एमाले र माओवादीले जसपा नेतृत्वको मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यसपछि नैतिक रूपमा संकटमा परेका यादवले सोमबार राजीनामा दिएका हुन् । यादवसँगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले समेत पदबाट राजीनामा दिएका छन् ।
१२ सांसद भएको जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव विदेशमा रहेका बेला आइतबार विभाजित भएको हो । सात सांसदसहित अशोक राई नेतृत्वको जसपालाई सोमबार निर्वाचन आयोगले दलको मान्यता दिइसकेको छ । उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादव अब संसद्मा पाँच सिटको नेतृत्व गर्ने दलको नेतामा सीमित भएका छन् ।