क्रान्ति केन्द्र सम्वाददाता
सप्तरीको तिरुहुत गाउँपालिकामा बजेट सिध्याउनै खेतमा नाला निर्माण गरिएको छ । बजेट सिध्याउन वडा नं २ वडहारामा पालिका अध्यक्षले आफ्नो कार्यकर्ताको खेतमा नाला निर्माण गराएको हो । हुनुपर्ने ठाउँमा नाला नहुँदा शनिबार रातिदेखी परेको अविरल बर्षाले स्थानिय १ सय ५० घर डुवानमा परेको छ ।
गत आर्थिक बर्षको गाउँपालिका बजेटबाट १० लाखको लागतमा गाउँमा नाला नबनाई सहजै बजेट सिध्याउनै उदेश्यले पर स्थानीयको खेतमा नाला बनाउँदा अहिले गाउँ नै डुवानमा परेको स्थानीयको गुनासो छ ।
बर्षको पानी त्यहाँ रहेको जनकल्याण बचत तथा ॠण सहकारी संस्थामा पस्दा ठूलो क्षती भएको छ । संस्थामा रहेको कम्प्युटर, सिपियु, इंभाइटर, स्टोर गरेर राखेको युरिया, डिएपी र पोटास (मल-खाद्य) लगायत संस्थाको सम्पूर्ण कागजात समेत भिजेर नष्ट भएको सोही वडाका वडाअध्यक्ष संजीव यादवले बताए ।
‘नालाको आवश्यकता गाउँमा थियो । तर पालिकाले वडालाई समेत समन्वय नगरी केही संस्थालाई त्यसको ठेक्का दिएको थियो । यस बिषयमा पालिकालाई नै जानकारी होला । मलाई अरु केही जानकारी भएको छैन ।’ उनले भने, ‘घटनाबारे जानकारी पाउँदा मैले समेत स्थलगत निरीक्षण गरेको थिएँ । त्यहाँका पानी निकाल्न तत्काल वडाबाट जति सक्दो सहयोग हुन्छ दिन तयार छु, तर नाला निर्माणको काम पालिकाबाट नै भएको थियो ।’
यस बिषयमा बुझ्न गाउँपालिका अध्यक्ष बिजय यादवसँग सम्पर्क गर्दा पालिका अध्यक्षले कुनै किसिमको प्रतिक्रिया दिन चाहेन । फोन गर्दागर्दै बिचमै फोन काटेर सम्पर्क बिहिन भए ।