क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । ज्यान मार्ने उद्योगमा जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेका खडकनाथ यादवले प्रहरीले जाहेरी दर्ता नगरेको गुनासो गरेका छन् ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-८ तोपाका उनी आफ्नो छोरा उमेश यादवमाथि भएको ज्यान मार्ने हमलामा संलग्नलाई कारबाही गर्न माग गर्दै मंगलबार जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय सप्तरी पुगेका थिए । तर प्रहरीले जाहेरी दर्ता नै नगरि उनलाई फर्काएको थियो । तिलाठी कोइलाडी गाउँपालिका -७ मंसापुरका वेदानन्द मंडल र जिवछ मंडलले आइतबार समुहमै आएर आफ्नो छोरा उमेशउपर ज्यानै मार्ने उदेश्यले नियोजित ढंगले हमला गरेको र अधमृत हुनेसम्म कुटपिट गरेको उनले बताए ।
‘यसअघि सोमबार पनि उजुरी शाखामा जाहेरी लिएर गएको थिएँ, तर जाहेरी दर्ता गरिदिनु भएन्, ढिलो पनि भइसकेको थियो, म फर्कि हालेँ,’ खडकनाथ यादवले भने, ‘आज(मंगलबार) त्यहाँ गएर डिएसपी साबलाई भेटे तर उहाँले पनि जाहेरी दर्ता गर्न नभनि एउटा चिट लेखेर उजुरी शाखामा जान भन्नुभयो, उजुरी शाखामा यसले जाहेरी दर्ता हुुँदैन् भन्यो ।’
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी ढुण्डीराज नेउपानेले उजुरी शाखाको नाममा दिएको उक्त चिटमा लेखिएको छ,’दुवै पक्षलाई झिकाई वास्तविकता बुझि कार्यन्वयन गर्ने ।’
खडकनाथ यादवले दोषीको पहुँचकै कारण प्रहरीले उनीहरूलाई पक्राउ नगरिरहेको र जाहेरी समेत दर्ता गर्न नमानेको आरोप लगाएका छन् ।
घटनाक्रम
आइतबार साँझ मनसापुर टोल तर्फ ट्याक्टर चलाई रहेको बेला बेदानन्द मंडल र जिवछ मंडलसहित अन्य ४/५ जना नचिनेको व्यक्तिहरू समूहमा आएर उमेशलाई कुटपिट गरेको थियो ।
उमेशका अनुसार उनीहरूले पूर्व योजना बमोजिम एक्कासी ट्याक्टर रोकी कुटपिट गरेका थिए ।
उनले लात, हात, काठको फठ्ठाले आफूलाई अधमृत हुने गरि कुटपिट गरेको सुनाए । उनले डाइगरले बायाँ हात र तिघ्रामा घोपेको समेत बताए ।
उमेशले आफुसँग भएको ७६ हजार रुपैयाँ , रहेको सुनको सिक्रि १ तोला र ४ आनाको १ थान र मोबाइल समेत उनीहरूले लुटको बताए ।
उनले भने, ‘मेरो र उनीहरुसँग कुनै चिनजान पनि छैन्, दादागिरी ढंगले आएर कुटपिट गर्यो, किन के कारणले थाहा भएन् ।’
डिएसपी ढुण्डीराज नेउपानेले प्रहरीले जाहेरी दर्ता नै नगरेको आरोप अस्वीकार गरे ।
उनले भने, ‘दर्ता नै नगर्ने होइन्, उजुरी शाखाले दुवै पक्षलाई झिकाएर कुरा बुझ्छ, त्यसपछि दर्ता गर्नुपर्ने हुन्छ भने दर्ता गर्छौँ।’