क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । नेपाल पत्रकार महासंघको अधिवेशनको बन्द सत्रमा शुक्रबार प्रेस मंचका महासचिव अवधेशकुमार झा ४० मिनेट उभेका थिए ।
अधिवेशनमा सबैलाई बोल्ने मौका दिएपनि मधेशीलाई हेप्दै आफ्नो धारणा राख्न दिएको थिएन् । त्यसपछि उनलाई एक मिनेटमा आफ्नो कुरा राख्न भनिएको थियो । कुरा राख्ने क्रममा उनले महासंघले मधेशीप्रति देखाएको रवैया बारे प्रश्न तथा निन्दा गरेका थिए ।
यसमा झाले सप्तरी लगायत मधेशका बिभिन्न व्यक्तिहरुबाट प्रशंसा पाइरहेका छन् ।
उनको समर्थनमा रास्वपाका नेता बरूण झाले लेखका छन्, ‘महासंघका पूर्व केन्द्रीय सदस्य एवम् प्रेस मञ्च नेपालका केन्द्रीय महासचिव अबधेश कुमार झाजीले मधेशीलाई पनि बोल्न देउ भन्दै ४० मिनेट उभिरहनु भयो । बल्ल अध्यक्ष मण्डलद्वारा बल्ल वहाँले एक मिनेटको समय पाउनु भयो ।
वहाँले उठाउनु भएका हरेक कुराहरु जायज छन् । आरोप-प्रत्यारोपतिर म जान चाहदिनँ । तर यति अवश्य भन्न चाहन्छु कि महासंघ सबैको साझा र समावेशी पेशागत संस्था हो । सबै अँटाउनुपर्छ । मधेशी, आदिवासी, जनजाति, अल्पसंख्यक अनुहारहरु समेत अँटाउनु पर्यो र देखिनु पनि पर्यो ।’
त्यस्तै यसअघि माओवादी केन्द्रका नेता तथा पुर्वमन्त्री उमेश यादवले पनि महासंघको यस प्रवृत्तिको निन्दा गरेका छन् ।
आमसंचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले पनि महासचिव झाको समर्थन गरेका छन् ।