क्रान्ति केन्द्र सम्वाददाता
राजविराज। नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आजवाट शुरु भएको २७औं महाधिवेशनमा मधेशी, आदिवासी, जनजाति लगायतका वर्ग समुहलाई उपेक्षा गरिएको भन्दै प्रेस मंच नेपालका महासचिव अबधेश झा महाधिवेशनको बन्द सत्रमा झण्डै ४० मिनेट बढी उभेर सांकेतिक विरोध जनाएका छन्।
महासचिव रोशन पुरीद्वारा सांगठनिक प्रतिवेदन प्रस्तुत भईरहंदा पत्रकार झा महासंघको साझा चरित्र विपरित एउटा खास वर्ग समुहलाई अझै पनि उपेक्षाका दृष्टिले हेर्नेकाम भईरहेको भन्दै सभा समक्ष उभिराखे ।
‘महाधिवेशनको बन्द सत्र समक्ष उभिनु परेको अवस्था आफैमा दुखदायी थियो यद्यपि त्यसको विकल्प थिएन, झाले भने महाधिवेशनको उदघाटन सत्रमा एक जना पनि मधेशी अनुहार वक्ता सुचिमा थिएन, बन्द सत्रको शुरुमै आफ्नो कुरा राख्न पाउने अनुमति मागे, त्यो पनि पाइएन ।’
महाधिवेशनको उदघाटन सत्रमा कांग्रेस निकट प्रेस युनियन, एमाले निकट प्रेस चौतारी, माओवादी निकट प्रेस संगठन तथा नेकपा एस निकट संगठनका प्रतिनिधिहरुलाई वक्ता सुचिमा राखिएपनि प्रेस मंच वा मधेश केन्द्रित कुनै पनि संगठनका प्रतिनिधिलाई शुभकामना मन्तव्य सम्म राख्न नदिएको प्रति आफ्नो गुनासो रहेको झाले बताए ।
उदघाटन सत्रमा झण्डै ५ दर्जन बढी पत्रकारलाई प्रेस स्वतंत्रता सेनानी घोषणा गरिएकोमा त्यसमा तीन जना मधेशी अनुहार मात्रै देखिनु लगायतका तथ्यहरु महासंघको साझा चरित्र विपरित कार्य रहेको झाको भनाई छ ।
झण्डै ४० मिनेट आफु सभा समक्ष शान्ति पूर्ण रुपमा उभिएर विरोध जनाएपछि वल्ल सम्मानित सभाले सभा समक्ष आफ्नो कुरा राख्ने अवसर दिएको पत्रकार झाले बताए । आफुले उठाएको मागका आधारमा अध्यक्ष मंडलद्वारा निर्देशन समेत जारी गरिएको झा बताउछन् ।
‘लोकतंत्र र प्रेस स्वतंत्रताका निम्ति त्याग र बलिदान दिने मधेशी आदिवासी जनजाति दलित लगायत सवै वर्ग समुदायका पत्रकारहरुलाई समानुपातिक प्रतिनिधित्व गराउनु पर्ने ठाउंमा झन उपेक्षा गरिनुलाई कदापि जायज भन्न मिल्दैन’, उनले भने, ‘आफ्नै घरभित्र आत्म सम्मान सहितको प्रतिनिधित्वका निम्ति हामि अझै संघर्षमै छौ, वास्तविकता यहि हो ।’