प्रवेश मिश्र
राजविराज। महादेवा गाउँपालिका-१ चिम्टीमा आगलागी भएको चार दिन बितिसकेको छ । तर अझै उनीहरू खतरामै जिवनयापन गरिरहेका छन् । त्रिपाल मुनि दिनरात काटिरहेका उनीहरूलाई खानेपानी र शौचालय सम्ममा समस्या हुने गरेको छ ।
आगलागीले गर्दा त्यहाँका ट्वेलहरू सुकिसकेकोले उनीहरूलाई पानीको लागि पनि अरूकै भरमा रह्नु परेको छ । तर जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय सरकारले भने उनीहरूको समस्या समाधान गर्न खासै तदारुकता देखाएको छैन् ।
‘त्रिपाल मुनि रात काट्छौँ, कतिखेर सर्प, किराले टोक्छ डर लागेको हुन्छ,’ पीडित गीता देवीले भनिन्, ‘ड्राममा साल भरि खाने चामल राखेको थियौँ सबै जल्यो, कल(ट्वेल) समेत जलिसकेको छ, पानी खानलाई कल छैन् ।’
उनले भुँईमा सुत्दा ज्यान जाने डरले सताइरहेको बताए । ‘तल सुत्दा किराले टोकेर कहिले ज्यान जान्छ डर लागेको हुन्छ,’ उनी भन्छिन्, ‘जिवित रहन्छौँ, अनि न भोट दिन्छौँ ।’
स्थानीय रिंकु देवी सदाले आफूहरु सासु, ससुरासहित ७ जना एकै त्रिपाल मुनि सुतेर रात काट्ने गरेको बताईन्।
‘श्रीमान कमाउन बाहिर जानुभएको छ, ३ जना बच्चाहरू, म र सासु, ससुरा एकै औछ्यानमा त्रिपाल मुनि सुत्छौँ,’ उनले भनिन्, ‘त्यो त्रिपाल पनि हावाले कतिखेर उडाएर लग्छ डर लागेको हुन्छ, राति निद्रा नै हुँदैन्।’
दिपिका सदाको परिवारको पनि त्यही अवस्था छ । उनी बिहिबार राति आफ्नो एक बर्षीय छोरीलाई लिएर सुतिरहेकी थिइन् । त्यतिबेला नै दुईवटा बिच्छी उनको कपडामा पस्यो । ‘राति सुतिरहेको थिएँ, दुईवटा बिच्छी कपडामा पस्यो, धन्न ज्यान जोगियो, बच्चाहरूलाई त झन् खतरा छ, यस विपदबाट कसरी छुटकारा हुन्छ ?’ उनले भनिन् ।
महादेवा गाउँपालिकाले त्यहाँ स्वास्थ्य शिविर संचालन गरेको छ । यद्यपी त्यो शिवर दिनभरिलाई मात्र रह्ने गरेको स्थानीयहरूले बताए ।
रातिको समयमा त्यहाँ कसैलाई स्वास्थ्य समस्या भए त्यहाँसम्म एम्बुलेन्स सहजै पुग्न सक्ने अवस्था समेत छैन् ।
सप्तरी युथको अभियान
सप्तरी युथ नेपाल नामको संस्थाले त्यहाँका पीडितहरू दैनिक खाना खुवाउने गरेका छन् । नुर वेलफेयर सोसाइटी, मिसन कलेज तथा पदम् एग्रो टुर्जिमको सहकार्यमा युथले संचालन गरेको खाना खुवाउने अभियानले पीडितहरुलाई सहजता भएको छ ।
खानेपानीको समस्या देखिएकोले सप्तरी युथले शुक्रबारदेखि त्यहाँ तीनवटा टुवेल जडान गर्न लागेको युथका संयोजक सत्येन्द्र यादवले जानकारी दिए ।
त्यस्तै सप्तरी युथका कार्यवाहक अध्यक्ष मोहन यादवले पीडितहरुलाई खान खुवाउन आफूहरु सदैव तत्पर रहेको बताए । उनले भने, ‘हामीले यहाँ खाना खुवाइरहेको छौँ, सहयोगी हातहरु पनि आइरहेको छ तर अझै थुप्रै कामहरू यहाँ गर्नुपर्छ ।’
बिभिन्न गैरसरकारी संस्था, युवा समुह तथा स्थानीय व्यक्तिहरुले पीडितहरुलाई सहयोग गरिरहे पनि स्थानीय सरकार र जिल्ला विपद् व्यवस्थापन समितिको आवश्यक उपस्थिति त्यहाँ देखिएको छैन् । उनीहरूले त्यहाँ औपचारिकता मात्र बहन गरिरहेको देखिएको हो ।
मंगलबार दिउँसो भिषण आगलागी हुँदा त्यहाँका ६० बढी परिवार घरविहीन बनेका छन् ।
मुख्यमन्त्रीको घोषणा
बिहिबार मधेशका मुख्यमन्त्री सरोज यादवले पीडितहरुलाई घर बनाइदिने आश्वासन दिएका छन्। तर त्यसमा समय लाग्ने भएकाले उनीलाई सुरक्षित अस्थायी घरको तत्कालै आवश्यकता छ ।