क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । मधेश प्रदेशका गृह, संचार तथा कानुन मन्त्री राज कुमार लेखीले पत्रकारिता क्षेत्र र पत्रकारहरुको समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् । सप्तरीको तिरहुत गाउँपालिका ५ स्थित धार्मिक पर्यटकीय स्थल ठाकुर बाबा लोहजरा दहमा आइतबार आयोजित नेपाल पत्रकार महासंघ सप्तरी शाखाको ११ औं अधिबेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले पत्रकारहरुले खेपिरहेका समस्याप्रति आफू गम्भीर रहेको बताए । पत्रकारहरुको पेशागत सुरक्षा र संस्थागत विकासको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै उनले पत्रकारिता क्षेत्रमा रहेको तमाम समस्यालाई सम्बोधन हुने गरी कार्ययोजना पेश गर्न पत्रकार महासंघका जिल्ला तथा प्रदेश नेतृत्वलाई आग्रह गरे । मन्त्री लेखीले संघ सरकारले बजेटमा प्रदेश सरकार र स्थानीय सरासरमाथि भेदभाव गरेको टिप्पणी गरे । केन्द्रले ८० प्रतिशत बजेट राख्ने र सातवटा प्रदेश र ७ सय ५३ स्थानीय तहलाई २० प्रतिशत बजेट बिनियोजन गरेर केन्द्र सरकारले विभेद गरेको मन्त्री लेखीको भनाइ थियो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिब दिपेन्द्र चौहानले सरकारले संचारकर्मीहरुमाथि हेर्ने दृष्टिकोण नकारात्मक रहेको बताए । सरकारको यस्तै रबैया रहिरहे सरकार विरुद्ध आन्दोलन जान नेपाल पत्रकार महासंघ बाध्य हुने उनले चेतावनी दिए । आमसंचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले कर्मचारी र बजेटको अभावमा चाहेर पनि पत्रकारको हितमा उल्लेखनीय कार्य गर्न नसकेको बताए ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष राजेश कर्णले प्रदेश सरकार पत्रकारहरुको समस्या प्रति उदासीन रहेको बताए । उनले पत्रकारहरुको संस्थागत विकास र पेशागत सुरक्षाका लागि प्रदेश सरकारलाई गम्भीर हुन आग्रह गरे ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, पुर्व केन्द्रिय सदस्य अबधेश कुमार झा, राजविराज नगरपालिकाकी कार्यबाहक मेयर इसरत परविन, तिरहुत गाउँपालिकाका अध्यक्ष विजय कुमार यादव, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल, प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व सभापति बैधनाथ झालगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
यसैगरी प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष भूषण कुमार सिंह, नेपाल प्रेस प्रेस युनियन सप्तरीका अध्यक्ष विनयलाल कर्ण, प्रेस चौतारी नेपाल सप्तरीका अध्यक्ष डम्बर राई, समाजवादी प्रेस संगठन सप्तरीका अध्यक्ष अनिल पोखरेल, प्रेस सेन्टर सप्तरीका उपाध्यक्ष विन्दु कुमार यादवलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । नेपाल पत्रकार महासंघ सप्तरीका सचिब रामनारायण विश्वासद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष बैधनाथ यादवले गरेको थिए भने अर्का उपाध्यक्ष अम्बिका दाहालले धन्यवाद व्यक्त गरेकी थिइन् ।
कार्यक्रममा आम संचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवसहित, शाखाका पुर्व अध्यक्षहरु पत्रकारिता क्षेत्रमामा योगदान गरेका वरिष्ठ पत्रकारहरु लगायतका दर्जनौं व्यक्तिलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।