क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । २३ बर्ष अघि सप्तरीको छिन्नमस्ता गाउँपालिका -३ सखडामा खानेपानी आयोजनाको काम थालिएको थियो । तर दुईदशक बितिसक्दा समेत उक्त आयोजना संचालनमा आउन सकेको छैन् ।
उक्त आयोजनाको उपभोक्ता समिति र खानेपानी कार्यालयले यसलाई संचालनमा ल्याउन गम्भीरता नदेखाएपछि छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरी उक्त आयोजना शिघ्र संचालनमा ल्याउन सक्रिय देखिएका छन् ।
उक्त आयोजनालाई सुचारु गर्न वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको डेढ करोड रुपैयाँको लागतमा काम सुरु गरिएको अध्यक्ष चौधरीले जानकारी दिए ।
‘उपभोक्ता समिति तथा खानेपानी कार्यालयलाई पटकपटक ताकेता गरेपनि गम्भीरता नदेखाएपछि वैकल्पिक बाटो खोजेँ,’ उनले भने, ‘वैक्लपिक उर्जा प्रवर्द्धन केन्द्रसँग समन्वय गरि साझेदारीमा काम सुरु गरिसकेका छौँ, अब छिट्टै स्थानीयवासीहरुले शुद्ध पानी पिउन सक्नेछन् ।’
उनले प्रवर्द्धन केन्द्रको प्राविधिकसहितको निर्माण टोलीले फिल्डमा आएर डाटा संकलन, पाइपिङ, लाइनिङ सहितको काम सुरु गरिसकेको बताए ।
‘२३ बर्षदेखि खानेपानी आयोजना अलपत्र रहेकोले स्थानीयवासीहरूले शुद्ध खानेपानीको उपभोग गर्न सक्ने आशा गुमाइसकेका थिए,’ उनले भने, ‘यो खानेपानी आयोजना सुरु भएपछि यहाँका बासिन्दाहरूले शुद्ध खानेपानी खान सक्नेछन्, जसले उनीहरू स्वस्थ्य रहन्छन्, अशुद्ध पानी खाएर हुने गरेको बिरामीबाट जोग्छन् ।’
यसको पहिलो चरणमा सखडाका व्यापारी, सरकारी कार्यालय, प्रहरी चौकी र सखडा टोलको स्थानीयवासीहरुको घरमा पानी पुऱ्याउने योजना रहेको अध्यक्ष चौधरीले जानकारी दिए ।
त्यसपछि गोविन्दपुर र महुआ टोलवासीसम्म समेत सेवा विस्तार गर्दै लगिने उनले जानकारी दिए ।