क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । अग्निपीडितलाई पक्की अवास निर्माणको लागि जनमत पार्टीका अध्यक्ष डा सीके राउतले गृहमन्त्री रवि लामिछानेलेलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
सप्तरी तथा महोत्तरीको अग्निपीडितलाई आवास निर्माण गर्न आवश्यक व्यवस्था गर्न अनुरोध गर्दै शुक्रबार अध्यक्ष राउतले गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
अग्निपिडितको लागि राहतमात्रै नभई भूकम्पपिडित झैं पक्की आवास निर्माण गर्न पहलको लागि आग्रह गरिएको राउतको सचिवालयले जनाएको छ।
सुख्खा मौसमा सबै ठाँउमा आगलागी हुन सक्ने अवस्था रहेकोले जिल्लाका विपद व्यवस्थापन समितिलाई तयारी अवस्थामा रहन निर्देशन दिन समेत ज्ञापनपत्र मार्फत माग गरिएको छ ।
ज्ञापनपत्रमा सुख्खा मौसमा तराई क्षेत्रमा पानीको हाहाकार हुने गरिएकोले प्रभावित क्षेत्रमा राहतस्वरूप पानी उपलब्ध गराइदिन समेत अनुरोध गरिएको छ ।
गत आइतबार दिउँसो सप्तरीको कञ्चनरुप नगरपालिका-५ पडेमारामा भिषण आगलागी भएको थियो । एकाएक भएको आगलागीमा टोलको १२ परिवारका २४ घर , अन्नपात, लत्ताकपडा, गोठ र बाख्राजलेर करिव २५ लाखको क्षती भएको प्रहरीको तथ्यांक छ ।
त्यस्तै बुधबार महोत्तरीको मटिहानी नगरपालिका-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको थियो । त्यस आगलागीमा सयौं घर जलेर नष्ट भएको थियो ।