क्रान्ति केन्द्र सम्वाददाता
राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले पौडेलबाट २३ करोड ७५ लाख बिगो मागदाबी गरेको छ ।आम्दानीको तुलनामा अस्वाभाविक आर्जन देखिएको भन्दै अख्तियारले अकूत सम्पत्ति कमाएको निष्कर्ष निकालेको छ। गैरकानूनी सम्पत्ति आर्जन गरेको उजुरीमाथि अनुसन्धानका लागि भन्दै अख्तियारले उनलाई १० माघमा पक्राउ गरेर हिरासतमा राखेको छ ।
आइतबार नै अख्तियारले उनीसँगै पक्राउ परेका विकल पौडेलविरुद्ध आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पदमा पुगी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
विकल पनि १० माघमा सुनिल पौडेलसँगै पक्राउ परेका हुन् । उनीविरुद्धको अनुसन्धान बाँकी रहेको भन्दै अख्तियारले गत शुक्रबार २१ दिनका लागि विशेष अदालतबाट म्याद थप गरेको थियो ।
सुनिल पौडेलविरुद्ध अख्तियारले दायर गरेको यो दोस्रो भ्रष्टाचार मुद्दा हो । गत असोजमा दायर पेमेन्ट गेटवेको मुद्दामा उनलाई विशेष अदालतले शुक्रबार मात्रै दोषी ठहर गरेको छ । विशेष अदालतले कसुर निर्धारणका लागि २५ वैशाखमा पेशी तोकेको छ ।