पुस महिनाको समय थियो , चरम उत्कर्षकमा थियो शितलहर । राजविराजमा एक जना ५५ वर्षीया महिला उपचारको लागि चिकित्सकको निजी क्लिनिकमा पुगिन् । उनलाई रुघाखोकी र ज्वरोले च्यापेको थियो । क्लिनिकमा पुग्ने बित्तिकै उनीसँगै रहेका एक जनाले ५ सयको नोट निकालेर काउन्टरमा दिए । त्यसपछि काउन्टरमा बसेकाले उनलाई नाम, ठेगाना लेखेर डाक्टरको पुर्जा दिए र एक छिन पर्खन् भने । डाक्टर आफ्नो अर्को क्लिनिकबाट आउँदै थिए ।
त्यसको क्षण्डै आधा घण्टा पछि डाक्टर त्यहाँ पुगे, समय बिहानको १० बज्न लागेको थियो । तबसम्म त्यहाँ ९ जना पेसेन्ट आइसकेको थियो ।
डाक्टरले कम्पाउन्डरलाई पठाउ भन्दै आफू आफ्नो क्याबिनमा छिरे । कम्पाउन्डरले क्रमशः प्यासेन्टहरूलाई पठाउन थाले । म ती महिलाको पालोको लागि पर्खी रहे । ६ नम्बरमा उनको पालो आयो, उनी भित्र छिरिन र ५ मिनेटमा बाहिर आईन् । उनी बाहिर निस्किँदा एक युवकले उनको हातबाट पुर्जा लिए । उनी त्यहीँको स्टाफ थिए । पुर्जामा जाँचहरू लेखिएको थियो । युवकले ती महिलालाई परको एक मेडिकल ल्याब हेराउँदै त्यहाँ गएर यी जाँच गराइ हाल्नु भने । उनले यसमा कति खर्च लाग्छ सोधिन्, युवकले त्यो ल्याबमै बताइदिन्छ जवाफ फर्काए ।
उनी दुवै जना त्यही ल्याब पुगे, उनीसँगै मपनि लागे ।ल्याबमा उनको रगत, पिसाब र दिशा लिइयो, र यसमा २७०० रूपैयाँ खर्च पर्ने सुनाए । महिला आश्चर्यचकित हुँदै भनिन् २७ सय । उनले हो, दोहोराए । पैसा तिर्न भने, उनले तत्काल १ हजार जम्मा गरिन्। तबसम्म ११ बज्न लागेको थियो, ल्याबको स्टाफले २ बजेपछि रिपोर्ट लिन आउन भन्यो । महिलाले यति टाइम लाग्छ र ? प्रश्न गरिन्, उताबाट, हो जवाफ आयो र डाक्टर पनि अब अस्पतालबाट २ बजे आउने जनाकारी ।
मेडिकल स्रोतको अनुसार त्यो जाँचमा बढीमा एकदेखि डेढ घण्टा लाग्छ । तर डाक्टरको टाईम मेनेजमेन्टको लागि प्यासेन्टलाई विश्ववास दिलाउँदै यसरी भनिन्छ ।
खैर, उनी बाहिर आईन्, र नजिककै नास्ता पसल पुगिन्, म पनि उनकै पछाडि लागे । म उनकै टेबुलमा बसे, मैले एक ग्लास चिया भने, उनीहरू नास्ता गर्न थाले । ‘दुई दिनदेखि ज्वरोले च्यापेको छ, बिहानैदेखि केही खाएको छैन्’ उनले भनिन् । मैले पनि गफ गर्न सुरु गरेँ । गफमा मैले पनि निजी क्लिनिकमा हेराउनु भन्दा सरकारी अस्पतालमा किन हेराउनु भएन् प्रश्न गरे । उनले निराशाजनक अवाजमा त्यहाँ पनि उपचार हुन्छ र ? भन्दै तन्ज कसिन् ।
अस्पताल त्यही नजिकै थियो, म पनि त्यहाँको अवस्था हेर्न पुगे । उ डाक्टर पनि अस्पताल नै आएको थियो । र डाक्टर फेरि क्लिनिकमा गए मात्र उनको पनि जाँच रिपोर्ट आउने भनिएको थियो ।
म अस्पतालमा पुग्दा बिरामीको निकै भिड थियो ।डाक्टरदेखि बिल काउन्टर र ल्याबमा बिरामी लाइनमा थिए । अस्पतालमा थुप्रै डाक्टरहरू थिए, म त्यही क्लिनिकको डाक्टर कहाँ गए। उनी भर्खरै बसेर दुई वा तीन पेसेन्टलाई हेरेको थिए । म पुग्ने बेला लगभग एक ६५ वर्षीय वृद्ध जाँच गरिरहेको थिए । ती बिरामीसँग उनको श्रीमति थियो । डाक्टरलाई भेटेर उनीहरू बाहिर आए र त्यहाँ एक जनालाई जाँचहरु कहाँ हुन्छ भने सोधे । उनले देखाएको ठाउँमा उनी पुगे । त्यहाँ एक जना कर्मचारी पुर्जा संकलन गरिरहेको थियो। तर त्यतिखेर उनी आफ्नै धुनमा पहिलाका कागजातहरुलाई तलमाथि गरिरहेको थियो । एक छिनमा उनले ती वृद्धको पुर्जा लिए, र सोधे बिल ? उनले ‘यही त हो’ भने, अनि ती कर्मचारीले ‘होइन्, त्यहाँ काउन्टरमा गएर कटाएर ल्याउनुस्’ भने ।
वृद्ध दम्पती बिल कटाउन काउन्टरमा गए । त्यहाँ लाइनमा लागे, क्षण्डै आधा घण्टा लाइनमा लागेपछि उनको पालो आयो । त्यहाँ कर्मचारीले उनलाई १२ सय रुपैयाँ दिनुस् भने, उनले तिरे ।
तबसम्म ११ बजेर ४० मिनेट भइसकेको थियो । उनी बिल लिएर फेरि जाँच हुने ठाउँमा गए र रगत, पिसाब दिए, त्यहाँका स्टाफले उनलाई दुई बजे रिपोर्ट लिन आउन भन्यो । उनी चाँडै हुँदैन् भनेर नरम स्वरमा सोधे, समानेबाट हुँदैन्, त्यति टाइम लाग्छ नै भन्दै जवाफ आयो ।
उनको सुगर टेस्टको लागि एकपल्ट रगत लिइयो तर खाना खाएको दुई घण्टापछिको रगत दिन बाँकी नै थियो । उनलाई खाना खाएको दुई घण्टापछि रगत दिन आउन पनि भन्यो । त्यसपछि उनी बाहिर आए, नजिकै होटलमा गएर खाना खाए । ठ्याक २ बजे उनी त्यहाँ आइपुगे । उनको रगत लिइयो, यो रिपोर्ट भोलि आउँछ भन्यो र बाँकी रिपोर्ट दिइयो। उनी डाक्टर कहाँ पुगे, तर त्यहाँबाट डाक्टर गइसकेका थिए ।
उनले एक कर्मचारीलाई डाक्टर कतिबेरमा आउनुहुन्छ मलाई रिपोर्ट हेराउनु थियो सोधे ? अब आज होइन् भोलि, अहिले क्लिनिकमा जानु भएको छ भन्दै जवाफ आयो । उनको एक दिनमा उपचार हुन सकेन्, उनी दु:खी भए ।तर मनमा आशा लिएर फलानो डाक्टरको क्लिनिक कहाँ छ भनेर एक जनालाई सोधे । ती व्यक्तिले उनलाई डाक्टरको क्लिनिक सम्म लगदिए ।
उनी त्यहाँ गए, त्यहाँ विरामीको भीड थियो, उनी पर्खी रहे । त्यहाँ काउन्टरबाट उनलाई पुर्जा कटाउन भन्यो । उनले म अस्पतालबाट आएको छुँ, डाक्टर साबलाई रिपोर्ट हेराउनु छ भने । यहाँ हुँदैन् अब भोलि अस्पतालमै देखाउनु होला् जवाफ सुनियो ।
तब सम्म ती महिला पनि रिपोर्ट लिएर भित्र छिरिन् । डाक्टरले औषधि लेख्यो, उनी बाहिर आइन् र त्यहीँ पसलमा औषधि लिइन् । डाक्टरले उनलाई लेखिएकै कम्पनीको औषधि लिनुहोला भनेको थियो । पसलेले पनि औषधि दियो । औषधिको मुल्य १३६०रुपैयाँ भएको थियो । उपचारमा उनको कुल ४५६० रुपैयाँ खर्च भयो । उनी औषधि लिएर त्यहाँबाट निस्के । उनलाई ७ दिनपछि पुनः जाँचको लागि आउन भनिएको थियो ।
म भने त्यहाँ पर्खि रहे किनकी त्यहाँ ती वृद्ध दम्पती प्रतिक्षामा थियो । सबै पेसेन्टहरू जाँच गराएर निस्किसकेपछि, ती दम्पती डाक्टरको च्याम्बरमा प्रवेश गर्न चाहे तर उनलाई भित्र छिर्नबाट रोकियो । र त्यहाँ रहेका एक जना औषधि कम्पनीको मार्केटिङ प्रतिनिधिलाई भित्र छिराइयो । १५/२० मिनेट गफ पछि उनीहरू दुवै जना बाहिर निस्के । ती दम्पतीले डाक्टरलाई रिपोर्ट हेरिदिन आग्रह गरे। तर डाक्टरले रुखो स्वरमा यहाँ हुँदैन्, अस्पातालको अस्पतालमै हुन्छ, यहाँ हेराउनु छ भने पैसा तिरेर पुर्जा कटाउनुस् भन्दै अगाडि बढे । ती दम्पती निराश भएर त्यहाँबाट निस्के।
त्यसपछि म पनि निस्के, ती दम्पतीसँगको डाक्टरको व्यवहार हेरेर मेरो मन खिन्न भइसकेको थियो । यदि डाक्टरले उनको रिपोर्ट हेरि दिएको भएपनि उनको बढीमा ५देखि ७ मिनेट जाने थियो । उसो पनि ती डाक्टर समयभन्दा पौने घण्टा ढिलो अस्पताल पुगेका थिए, तर निस्किने बेलामा समयमै निस्के ।
यही कुरा मेरो मनमा खेलिरहेको थियो, म चिन्तन गर्दै घर तिर लागे । म पैदल थिए। त्यहाँबाट निस्किने बित्तिकै मलाई मेरो एक जना पुरानो साथी भेटायो ।
हामी धेरै दिनपछि भेटेको थियौँ, स्कुलमा पढ्दाको साथीसँग भेटेपछिको मज्जै बेग्लै हुन्छ। हामी चिया खाउँ भनेर नजिकै पसलमा गए । उसले मलाई कहाँ बस्छौ, के गर्छौ सोध्यो । मैले आफ्नो कामको बारेमा बताए । मैले पनि त्यही प्रश्न घुमाए । उसले म मेडिकल ल्याबमा काम गर्छु भन्यो । मेरो मनमा प्रश्नहरु खेलिन थाल्यो । र मैले आफ्नो जिज्ञासा शान्त गर्ने यही सहि अवसर रहेको ठाने । अनि मैले तिमीलाई त सबै जाँचको खर्च थाहा होला भनेर सोधे, उसले हो भन्यो । मैले ती जाँचहरुको नाम उसलाई सुनायो, उसले पनि त्यसमा २७०० रुपैयाँ लाग्ने सुनाए ।
मैले कहाँ जाँदै छौ भनेर सोधे ? उसले डाक्टर कहाँ भन्यो । किन, के भयो र ? उसले मलाई केही भएन् डाक्टरको हिस्सा दिन गइरहेको भने । मैले सोधे के हिस्सा ? उसले त्यो जुन २७०० सय रुपैयाँ छ त्यसमा त १३०० सय डाक्टरको हो नि सर भन्दै भन्यो । मैले स्पष्ट बुझिन्,र प्रश्न गरे के हिस्सा। उसले भन्यो,’बजारमा थुप्रै ल्याबहरु छन्, पेसेन्ट तिम्रैमा किन आउँछन्, यसको लागि त हिस्सा दिनुपर्छ, प्रत्येक जाँचमा ५० प्रतिशत डाक्टरको हुन्छ, कुनै कुनै जाँचमा त ६० प्रतिशतसम्म दिनुपर्छ।’
उसले कमिसन दिनु पर्दैन थियो भने यति महँगो जाँच हुन्थ्यो र ? भन्दै उठे । हामी त्यहाँबाट निस्के, मैले हुन्छ फेरि भेटौंला भन्दै हामी छुटे । त्यसपछि मेरो मनमा औषधिमा पनि कमीसन हुन्छ की, एक्सरेमा के हुन्छ लगायतको प्रश्नहरु खेलिन थाल्यो । म त्यहाँबाट सिधै एक जना दाजुको औषधि पसल पुगे । त्यहाँ दाजुसँग समय लिएर औषधिमा तपाईहरुलाई डाक्टरलाई पनि कमीसन दिनुपर्छ भनेर सोधे ।
उनले हामीलाई होइन् भन्यो र मलाई यस बारे विस्तारमा भन्न थाल्नुभयो । उनले औषधि कम्पनीहरुले नै आफ्नो ब्राण्ड लेख्न डाक्टरलाई जिन्सी उपहार, विदेश भ्रमण, नगद जस्तो सेवासुविधा दिने गरेको बताए । उनले आफुहरूलाई डाक्टरले लेख्ने ब्राण्ड राख्नुपर्ने बताए । उनले जसको कम्पनीले जति कमिसन दिन्छ, त्यसको त्यति नै औषधि बेचिन्छ । त्यसैले त डाक्टरहरुले औषधिको जेनरिक नाम नलेखि सिधै ब्राण्डको नाम लेख्छन् बताए । र कम्पनीले त्यो सबै खर्च औषधिको मुल्यमा थपेर असुल्ने गरेको बताए । उनले एक्सरे पनि डाक्टरको कमीसन रहने गरेको बताए । दुख व्यक्त गर्दै उनले भने, कमीसनकै कारण स्वास्थ्य उपचार यति महंगो भएको हो । यस अवस्थाले कमीसनको प्रवृत्ति नभएको भए १० हजार लाग्ने उपचार ४ हजारमा हुन्थ्यो ।
(लेखक प्रवेशकुमार मिश्र एक संचारकर्मी हो )














